राजनीति

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।

अनेरास्ववियुको आज ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको जानकारी गराउँदै तीन दिनभित्र निर्वाचन आचारसंहितासहिता निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताएका हुन्।

उनले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा यसपटक स्ववियु निर्वाचन हुनेमा शङ्का नगर्नसमेत आग्रह गरे।

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक माग गर्दै अनेरास्ववियुका अध्यक्ष नविना लामाले त्रिविका शिक्षाध्यक्ष तथा विश्वविद्यालय केन्द्रीय स्ववियु निर्वाचन कमिटीका प्रमुखसमेत रहेका त्रिपाठीलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा निर्वाचनको नजिक आइरहेकाले क्याम्पस प्रमुखलाई देशभित्र र बाहिर कुनै पनि कार्यक्रम र गतिविधिमा रोक लगाउनुपर्ने, विद्युतीय मतदान प्रयोग गर्न माग गरिएको छ । त्रिविले फागुन १४ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन तयारी गरेको छ ।

त्रिविले पहिलोपटक मिश्रित निर्वाचन प्रणाली र निर्वाचनका उम्मेदवारलाई २८ वर्षे उमेर हदबन्दी तोकेको छ ।

विसं २०६५ यता प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद हुँदा अहिलेसम्म हुन सकेको छैन । रासस

 

प्रकाशित: ३ माघ २०७३ ११:२७ सोमबार

दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता शिक्षाध्यक्ष त्रिपाठी