राजनीति

अर्घाखाँची अदालत मुद्दा फस्र्योटमा अघि

अर्घाखाँची–जिल्ला अदालत मुद्दा फस्र्योटमा  देश भरीमै अघि देखिएको छ। यहाँ एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् । १० महिना पुगेको एउटा मुद्दा रहेकोमा त्यसलाई माघ महिना भित्र किनारा लगाइँदै छ।

एक वर्ष यताको समयमा वर्षयौंदेखि थन्किएर रहेका मुद्दाको किनारा लगाएको जिल्ला अदालतले जनाएको छ । गत वर्षको  पुसदेखि यो पुस महिना भित्र ३ सय ६ थान मुद्दा फैसला भएको जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाले जानकारी दिए। उनले  आफू जिल्लामा आएका एक वर्ष भएको  जानकारी दिँदै यो अवधिमा जिल्ला अदालतको मुहारै फेरिएको दाबी गरे।

अहिले देवानी तर्फका  २८ र फौजदारी तर्फका २१ गरि ४९ थान मुद्दा फस्र्योट गर्न बाँकी रहेको बताए । ६१ साल देखिका मुलतबी मुद्दाहरुलाई समेत जगाएर अदालतले फस्र्योट गरेको अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी बताए ।  अदालतमा परेका मुद्दालाई मेलमिलापबाट  पनि किनारा लगाउँदै आएको छ । झगडा र पारिवारिक विवाद अंशवण्डा लगायतका मुद्दालाई मेलमिलापबाट हल गर्न अदालतले मेलमिलाप कक्ष स्थापना गरेको छ । सर्वोच्च अदालत सम्म पुगेको करिव ४० वर्ष अघिको मुद्दालाई समेत मेलमिलापबाट किनारा लगाइएको गैरेले बताए ।

जिल्ला न्यायाधीश बास्तोलाले अदालत परिवारको लगनशिलताका कारण मुद्दा फस्र्योट गर्न सकिएको बताए । ‘मुद्दा फस्र्योट गर्नमा अर्घाखाँची देश भरमा अघि छ’, उनले भने, ‘यो समग्र जिल्लाले गर्व गर्ने पक्ष हो ।’ अदालतले यहाँका ग्रामिण तथा विकट बस्तीमा न्याय सम्वन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । न्यायालयप्रतिको हाउगुजीलाई मेलाउँदै विभिन्न चेतना मूलक कार्यक्रम सञ्चालन गरेपछि सकारात्मक बुझाइको विकास भएको छ ।

आजभोलि जिल्ला अदालतमा नागरिकहरु स्वतस्र्फूत जान थालेका छन् । ‘अदालतमा जान हुँदैन, न्यायाधीशसँग बोल्न समेत हुँदैन भन्ने भनाइले मानिसहरु अदालत छिर्न डराउने अवस्था छ’, बास्तोलाले भने, ‘न्यायाधीश पनि समाजको एउटा अंग भएकाले नागरिकसँग खुलैर बोल्नु पर्छ ।’ उनले प्रयाप्त प्रमाण जुटाएर मात्र  मुद्दा फैसला गरिएको बताए । अधिवक्ता विजय खत्रीले जिल्ला अदालतबाट छिटो छरितो सेवा प्रवाह गरेको बताए । ‘छिटो मुद्दा फैसला हुँदा सेवाग्राहीलाई निकै सजिलो भएको छ’, उनले भने, प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्छ।’  
 

प्रकाशित: २ माघ २०७३ ०७:३५ आइतबार

अर्घाखाँची अदालत मुद्दा फस्र्योटमा अघि