राजनीति

धरतीको लाजको लागि बाहिरी उम्मेदवारलाई पराजित गर्नु पर्छ: ज्ञवाली

आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले बारा –२ को धरतीको लाज राख्नको लागि पनि बैशाख १० गते हुने उपनिर्वाचनमा बाहिरी उम्मेदवरालाई पराजित गर्नु पर्ने बताएका छन्।

बारा –२ मा घर भएका उम्मेदवारलाई पराजित गराएर बाहिरबाट आएका उम्मेदवारलाई बिजयी बनाउँदा धरतीकै लाज जाने भएको देखेर मैले उम्मेदवारी दिएको ज्ञवालीले बताए।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा ज्ञवालीले बारा–२ को उपनिर्वाचनमा  ठूला ठूला पार्टीका नेताहरु आएर बाहिरी उम्मेदवारलाई जिताउन लागेर क्षेत्रवासीको स्वभिमानसँग नै खेलवाड गरेको आरोप लगाए।

यस क्षेत्रका अधिकाँश नेताहरुले आफ्नो बोलि लगाएर बसेकोले उनीहरुसँग क्षेत्रको लाज नरहने भएकोले क्षेत्रको लाजको लागि शिक्षक वर्ग, बुद्धजिवी ,संचारकर्मी, साधुसन्त लगाएत आम मतदाताहरुको काँधमा अहिले यस धरतीको लाज राख्ने जिम्मेवारी आएको ज्ञवालीले बताए।

धरतीको लाज बचाउनकै लागि बाहिरबाट आएका उम्मेदवार उपेन्द्र यादवलाई पराजित गर्नु पर्ने ज्ञवालीले अग्रह समेत गरे। ज्ञवालीले उपेन्द्र यादव निर्वाचनमा पराजित हुने डरले ८÷१० वटा दल बोकेर आएको आरोप लगाए।

‘उपेन्द्र यादव  एक्लै चुनाव लड्न आउनु भएको छैन, उहाँ आफै भयभीत भएर ८/१० वटा दल बोकेर आउनु भएको छ,’ ज्ञवालीले भने,  ‘दल पिच्छे कमान्डर समेत खटिएको छ।,'

उपेन्द्र यादवलाई निर्वाचित गराउनकै लागि सिके राउतले राम्रो छवी भएको व्यक्तिलाई उम्मेदवार नबनाएको आरोप समेत लगाए।

गएको मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ मा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवालीले ७ हजार ७९८  मत प्राप्त गरेका थिए। यस पटक भने उनले आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन्। उम्मेदवार ज्ञवालीले सडकलाई स्तरउन्नति गरेर धुले सडकलाई कालोपत्रे गर्ने, शिक्षाको स्तर उन्नति गरेर गाउँका विद्यालयहरूमा शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्य सुव्यवस्था राम्रो गर्ने र किसानको खेतमा पानी र समयमा मलखाद पु¥याउने आफ्नो चुनावी एजेन्डा रहेको बताएका छन्।

प्रकाशित: ४ वैशाख २०८० ०७:०७ सोमबार

अरुणकुमार ज्ञवाली