राजनीति

रवि समर्थकको बढ्दो अराजकता

भरतपुर महानगरपालिका-११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी छन्।

कपुरबोट मिडियाले केही दिनअघि उनीसँग चितवन-२ को चुनावी माहोलका विषयमा अन्तरवार्ता लिएको थियो। अन्तरवार्तामा अधिकारीले मंसिर ४ को निर्वाचनमा आफूले घन्टी (रास्वपा चुनाव चिन्ह) मा भोट दिएको बताउँदै अब नदिने बताएकी छन्। रवि ‘टुरिस्ट’ रहेको टिप्पणी गर्दै उनले अब आफू नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई मतदान गर्ने बताएकी छन्।

कपुरबोट मिडियाले केही दिनअघि उनीसँग चितवन-२ को चुनावी माहोलका विषयमा अन्तरवार्ता लिएको थियो।

अधिकारीले यति बोलेकै कारण सामाजिक सञ्जालमा रास्वपाका सभापति लामिछानेका समर्थक नराम्ररी जाइलागेका छन्; जसले ‘श्रद्धाञ्जली’ देखि लिएर निकृष्ट भाषामा अश्लील गाली बर्साइरहेका छन्। ‘बाहिर निस्कनै गाह्रो भइरहेको छ। पूरै नराम्रानराम्रा गाली गरिरहेका छन्’, अधिकारीले दुखेसो गर्दै भनिन्, ‘कति पैसा खाएर बोलिस्? भनेर सोध्छन्। आफ्नो चाहना र धारणा राख्दा यतिसम्म गिरेर बोल्नेले कसरी देश बनाउँछन्?’

लामिछानेका समर्थनकहरू अधिकारीको सोही भिडिओलाई लिएर अश्लील रूपमा उत्रिएपछि अहिले कपुरबोट मिडियाले उक्त भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ।

अधिकारीको जस्तै अवस्था चितवनकै कालिका नगरपालिकाकी सुजना मल्लको पनि छ। उनले पनि कपुरबोट मिडियामा आफ्नो धारणा राख्दै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई भोट हाल्ने बताएकी थिइन्।

लामिछानेका समर्थनकहरू अधिकारीको सोही भिडिओलाई लिएर अश्लील रूपमा उत्रिएपछि अहिले कपुरबोट मिडियाले उक्त भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ।

यति भनेपछि लामिछानेका समर्थक सामाजिक सञ्जालमा उनीमाथि पनि अश्लील स्तरमा जाइलागे। अश्लील गालीबेइज्जतीको वर्षा हुन थालेपछि मल्लसँगको अन्तरवार्ताको भिडिओ पनि कपुरबोट मिडियाले हटाइसकेको छ।

यी केही उदाहरण मात्रै हुन्, लामिछाने र रास्वपाको विपक्षमा धारणा आउनासाथ सामाजिक सञ्जालमा समर्थकहरू यसैगरी निम्नस्तरमा उत्रिएर गाली वर्षाउन सुरु गर्छन्। लामिछाने र रास्वपाको आलोचनात्मक टिप्पणी, सामग्री र विश्लेषण आउनासाथ भर्रर ‘आरआइपी’ (श्रद्धाञ्जली), दलाल, झोले, देशद्रोही लगायतका निम्न स्तरका ‘कमेन्ट’ बर्सन थाल्छ। महिलालाई निकृष्ट र यौनजन्य टिप्पणी गरेर निरुत्साहित गर्न कोसिस गर्छन्।

अराजकता पनि उस्तै

लामिछाने र रास्वपा समर्थकको भीड सामाजिक सञ्जालमा जति अश्लील भाषामा उत्रिरहेको छ, त्योभन्दा धेरै अराजक पनि बन्दै गइरहेको छ। उनका समर्थकको भीडले सामाजिक सञ्जालदेखि सडकसम्म अराजकता मच्चाइरहेको छ। त्यसैको एक उदाहरणका रूपमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालयअगाडिको घटनालाई लिन सकिन्छ।

लामिछानेविरुद्ध नागरिकता र राहदानी विवादमा सर्वोच्च अदालतमा रिट हालेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ आइतबार प्रहरीपरिसर कार्यालय पुगेका थिए। उनी त्यहाँ पुगेलगत्तै लामिछानेका समर्थक युट्युबरसहितको भीडले उनलाई घेर्‍यो। त्यसपछि पौडेलमाथि जाइलागेको उक्त भीड धक्कामुक्कीमा उत्रियो। रास्वपा सभापति ‘राजनेता’ रहेको बताउँदै भीडमा रहेका केही व्यक्तिले ‘दादा’ शैलीमा पौडेलमाथि भौतिक आक्रमण प्रयास गरेका थिए।

लामिछाने र रास्वपा समर्थकको भीड सामाजिक सञ्जालमा जति अश्लील भाषामा उत्रिरहेको छ, त्योभन्दा धेरै अराजक पनि बन्दै गइरहेको छ।

त्यतिञ्जेल प्रहरीले विवाद समाधानका लागि कोसिस गर्‍यो। सार्वजनिक भिडिओमा पौडेललाई जोगाउन प्रहरीले निकै मेहनत गर्नुपरेको देखिएको छ। ‘भीड बढ्दै गएपछि सफलजीलाई त्यहाँबाट छुटाएर गाडीमा हालेर बाहिर पठाएपछि मात्र अवस्था नियन्त्रणमा आएको थियो’, परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने।

पौडेलका अनुसार उनीमाथि लामिछानेका समर्थकबाट जहींतहीं आक्रमण प्रयास भइरहेको छ। ‘जहींतहीं ममाथि आक्रमण प्रयास भइरहेको छ। मलाई मार्नेसम्मको योजना भएको मैले पाएको छु’, उनले भने, ‘तर म त्यस्ता अराजक, कानुन नमान्ने व्यक्ति र उनका समर्थकबाट रत्तिभर डराउने मान्छे होइन। आफ्नो काम गरिरहन्छु।’

कोबाट सञ्चालित?

रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँगको अडिओ प्रकरणमा जोडिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको दाबीअनुसार यो भीड रास्वपा सभापति लामिछानेको सचिवालयबाटै सञ्चालित छ। उनले सञ्चारमाध्यम तथा सार्वजनिक कार्यक्रममै यस्तो टिप्पणी गरेका छन्।

‘रवि लामिछानेकै सचिवालयमा २०/२५ जनाको भीड छ। एकजनाले कैयन् नक्कली आइडी बनाएका छन्’, एउटा अन्तरवार्तामा उनले भनेका छन्, ‘कसैले विरोध गर्‍यो कि रिपरिपरिप लेख्छन्, गुड लक, गुड लक लेख्छन्। एक मिनेटमै सयौं कमेन्ट पुग्छ। दुनियाँमा अन्यत्र कहीं यस्तो हुन्न।’

रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँगको अडिओ प्रकरणमा जोडिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको दाबीअनुसार यो भीड रास्वपा सभापति लामिछानेको सचिवालयबाटै सञ्चालित छ।

मेडिकल व्यवसायीले भनेको कुरामा सत्यता होला या नहोला, तर अश्लील स्तरमा उत्रिने अधिकांश आइडी ‘फेक एकाउन्ट’ भएको देखिन्छ; जुन सयौंको संख्यामा छ।

प्रकाशित: ४ वैशाख २०८० ०२:२५ सोमबार

भरतपुर महानगरपालिका कपुरबोट मिडिया चुनावी माहोलका विषयमा अन्तरवार्ता अराजकता पनि उस्तै