काठमाडौँ- जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ग्रामीण बस्तीमा लघु जलविद्युत् कार्यक्रमका माध्यमबाट विद्युत् पुर्याई उज्यालो नेपाल अभियान सार्थक पारिने दृढता व्यक्त गरेका छन्।
नेपाल लघु जलविद्युत् विकास संस्थाको २४ औँ वार्षिक साधारणसभामा मन्त्री जोशीले लघु जलविद्युत् उत्पादन दिगो वातावरणमैत्री रुपमा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले मुलुकमा उद्यमशीलताको विकास गरी राजस्व प्राप्ति र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद धितालले लघु जलविद्युत् उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए। संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम व्यवसायमैत्री भएमा लघु जलविद्युत् उत्पादनमा वृद्धि आउने विश्वास व्यक्त गरे।
मुलुकका पहाडी एवम् हिमाली भेगका दुर्गम ठाउँमा बसोबास गर्दै आएका जनताका लागि विद्युत् सुविधा उपलब्ध गराउन लघु जलविद्युत् आयोजनाका लागि आवश्यक यन्त्र–उपकरण स्वदेशमा नै उत्पादन हुने गरेको बताइएको छ। देशका विभिन्न स्थानमा साना ठूला गरी करिब तीन हजार तीन सय लघु जलविद्युत् आयोजना स्थापित छन्।
कार्यक्रममा ऊर्जाविद् सुरेन्द्रभक्त माथेमा र विश्वभूषण अमात्यलाई सम्मान गरिएको थियो। रासस
प्रकाशित: २९ पुस २०७३ १४:३८ शुक्रबार