राजनीति

अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरण

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ।

यो प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच जुहारी चलेको हो। विज्ञप्तिमार्फत दुई दलबीच घोचपेच भएको छ। चैत २९ मा कांग्रेसले विज्ञप्ति निकाल्दै यो घटनालाई गम्भीरतापूर्वक लिएको बताएको थियो।

जिल्ला सभापति केशव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा रायमाझीको प्रत्यक्ष/परोक्ष संलग्नता देखिएकाले यो घटना आपत्तिजनक रहेको उल्लेख छ। पटकपटक मन्त्री समेत भइसकेको व्यक्ति अमानवीय क्रियाकलापमा संलग्न रहनु सिंगो जिल्लाका लागि दुःखद रहेको विज्ञप्तिमा जनाइएको छ।

राजनीतिक आडमा गरिने बेथिति र भ्रष्टाचारको पर्दाफास हुन जरुरी रहेको भन्दै कांग्रेस नेत्री सुजाता कोइराला नजिकका व्यक्तिहरूको समेत संलग्नता रहेको भनाइ आएकाले छानबिन गरी कारबाहीको दायरामा ल्याउन कांग्रेस अर्घाखाँचीले माग गरेको छ।

कांग्रेसले विज्ञप्ति निकालेको अर्को दिन चैत ३० मा एमालेले विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्नो नेतालाई अपराधी घोषणा गरेको भन्दै आपत्ति प्रकट गर्‍यो। जिल्ला पार्टीले सांसद रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई निराधार र तथ्यहीन भनेको छ।

एमाले विरोधीहरूले तथ्यहीन र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै विरोधीहरूले मसालाका रूपमा लिएको जनाएको छ। एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमालेका केन्द्रीय सचिव समेत रहेका रायमाझीमाथि सुनियोजित षड्यन्त्र भएको जनाइएको छ। एमालेका नेताहरूलाई खुइल्याउन सकिन्छ कि भनेर बेलाबेला यस्तो षड्यन्त्र भइरहेको भन्दै बद्नाम गर्न चक्रव्युह रचिएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले विज्ञप्ति जारी गरी सांसद रायमाझीसहित अमानवीय कार्यमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो। त्यसको भोलिपल्ट एमालेले विज्ञप्ति जारी गर्दै यसलाई ‘सुनियोजित फन्डा’ भनेको छ। कांग्रेसले निकालेको विज्ञप्तिमा अपराधी घोषित गर्ने मनसाय देखिएको भन्दै उसले आपत्ति जनाएको छ।

मिडियामा आएका आरोपका सवालमा राज्यले उचित छानबिन गरी आरोप प्रमाणित भए कारबाही गर्न एमालेले माग गरेको छ। आरोप प्रमाणित गर्न नसके बदनाम गराउन उद्यत् तत्वलाई साइबर अपराधअन्तर्गत कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग पैसा उठाउने गिरोहलाई सांसद रायमाझीले सहयोग गरेको खबर मिडियामा आएपछि कांग्रेस र एमालेबीच विज्ञप्तिमार्फत भनाभन भएको देखिन्छ।

कांग्रेस रायमाझीलाई खुइल्याउने पक्षमा उद्यत् देखिएको छ भने एमाले आफ्ना सांसदको बचाउमा उभिएको छ।

जिल्ला सभापति केशव श्रेष्ठले कसैलाई खुइल्याउने विषय नभएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाही गरिनुपर्ने बताए। आफ्नै पार्टीको सांसदको समेत नाम मुछिएको भन्दै उनले यस्ता अमानवीय कार्यमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

‘कसैलाई खुइल्याउने कुरा छैन’, उनले भने, ‘विज्ञप्तिमा प्रस्ट भनिएको छ, ‘आफ्नै पार्टीका सांसद संलग्न भए पनि कारबाही हुनुपर्छ।’

यता एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले राज्यले छानबिन गरेर अपराध पुष्टि भए कारबाही हुनुपर्ने भन्दै पुष्टि हुनुअगावै कांग्रेसले अपराधी घोषणा गरेकोमा आपत्ति रहेको बताए। ‘हामीले माननीयको बचाउ गरेका हैनौं’, उनले भने, ‘तर अपराध पुष्टि नहुँदै प्रहार गर्नु गलत हो।’  

प्रकाशित: २ वैशाख २०८० ०३:१३ शनिबार

एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल अवैध तरिकाले रकम असुली कार्य तथ्यहीन र भ्रमपूर्ण समाचार सम्प्रेषण