राजनीति

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता

काठमाडौं–  नेपाली कांग्रेसको १३औं महाधिवेशन भएको एक वर्ष बित्न नपाउँदै प्रभावशाली नेताहरू अर्को महाधिवेशन केन्द्रित समूह विस्तारमा अहिलेदेखि नै सक्रिय हुन थालेका छन् । पार्टीको तल्लो निकायले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्र बनाइरहेका बेला नेताहरू स्वार्थ केन्द्रित समूह विस्तारमा लागिपरेका हुन् ।

कांग्रेसको १३औं महाधिवेशन भएको एक वर्ष बित्न नपाउँदै प्रभावशाली नेताहरू अर्को महाधिवेशन केन्द्रित समूह विस्तारमा सक्रिय

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल अआफ्नो गुट संरक्षणमा लागिपरेका छन् भने कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र कुलबहादुर गुरुङसहितका नेता समूह विस्तारमा जुटेका छन् । देउवा र पौडेल नयाँ संविधान कार्यान्वयनमा एक ठाउँमा उभिए पनि संगठन सञ्चालनमा एकमत छैनन् ।

महाधिवेशन भएको नौ महिनापछि देउवाले विभाग गठन गृहकार्य सुरु गरे पनि पौडेल भने पदाधिकारी, केन्द्रीय सदस्यलाई पूर्णता दिएपछि मात्र विभाग गठन गर्नुपर्ने अडानमा छन् । तर, निकटहरूको उचित व्यवस्थापन गर्न नसक्दा पदाधिकारी र अन्य निकायलाई पूर्णता दिन नसकेका देउवा आन्तरिक सन्तुलन मिलाउन लागि परेका छन् । निकटहरूको सन्तुलन नमिल्दा १४औं महाधिवेशनमा त्यसको असर पर्ने भयमा रहेका सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनमा विलम्ब गर्दै आएका छन् ।

देउवाले आफ्नो उत्तराधिकारीका रुपमा विमलेन्द्र निधिलाई अघि बढाउन खोजेको निकटहरूको दाबी छ । उपसभापतिका अन्य दुई आकांक्षी खुमबहादुर खड्का र गोपालमान श्रेष्ठले असन्तुष्टी जनाउँदै आएका छन् ।

सभापतिमा पराजित नेता पौडेल अर्को महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने लक्ष्यसहित जिल्ला दौडाहामा सक्रिय छन् । निकटलाई समेटेरै १४औं महाधिवेशनसम्म पुग्ने योजनामा रहेका पौडेलले केही समयअघि भनेका थिए, ‘पार्टी सभापतिसँग मिलेर काम गर्न तयार छु तर त्योभन्दा बढी मआफैं सक्रिय हुनुपर्नेछ ।’

गुट राजनीतिमा सक्रिय पौडेल निकटहरूको व्यवस्थापनमा लागिपरेका छन् । तर, उनी निकट नेताहरू प्रकाशमान सिंह, रामशरण महत र महामन्त्री शशांक कोइराला पनि पार्टी नेतृत्वको आकांक्षी छन् । महामन्त्री र पूर्वमहामन्त्रीका रुपमा कोइराला र सिंह जिल्ला कार्यक्रममा सक्रिय छन् ।

आफूमाथि लाग्ने गरेको टेक्नोत्र्mयाटको आरोपलाई मिथ्या साबित गर्न महत सक्रिय छन् । नेता तथा कार्यकर्तासँग भेटघाट बढाएका महतले निकटहरूसँग भने गरेका छन्, ‘गुट होइन, मुलुकलाई आर्थिक विकास र संमृद्धितर्फ अघि बढाउन चाहनेहरूलाई समेटेर पार्टी अघि बढाउन चाहन्छु ।’

१३औं महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका सिटौलाले आफ्नो सम्पूर्ण ध्यान समूह विस्तारमा केन्द्रित गरेका छन् । पौडेल निकट नेताहरूलाई आफ्नो समूहमा तान्न सिटौलासहित निकट नेता सक्रिय छन् । अर्को महाधिवेशनसम्म पुग्दा पौडेल समूहबाटै कम्तीमा दुई उम्मेदवार हुने विश्लेषण सुनाउँदै सिटौला निकट एक नेताले भने, ‘रामचन्द्र दाइ (रामचन्द्र पौडेल) र प्रकाशमान सिंह एकै ठाउँमा उभिए पनि कोइराला परिवारभित्रबाट नेतृत्व लिनुपर्ने दवाबले उहाँहरूलाई एकै ठाउँमा उभिन दिँदैन ।’ त्यसको फाइदा आफ्नो समूहलाई पुग्ने बुझाइमा रहेका सिटौला निकट नेताहरू पदाधिकारी मनोनयनसँगै सभापति देउवा पक्षमा आउने असन्तुष्टिको पनि फाइदा उठाउने रणनीतिमा छन् । ‘अहिले हाम्रो ध्यान पौडेलसँग नजिक भएका साथीहरूलाई नै तान्ने हो,’ एक नेताले भने, ‘सत्ता र शक्ति छाडेर अहिले नै कोही हामीसँग आउने कुरा भएन । पदाधिकारी मनोनयनपछिको परिस्थिति अर्को हो ।’

त्यस्तै, नेता खुमबहादुर खड्का हिन्दु धर्मका नाममा पार्टीभित्र आफ्नो प्रभाव अझ बढाउन लागिपरेका छन् । हिन्दु राज्य स्थापनाको अभियान चलाइरहेका खड्काले सम्पर्क कार्यालय नै स्थापना गरेर त्यसप्रति आस्था राख्ने पार्टी नेतालाई संगठित गर्न लागिपरेका छन् ।

पार्टीका पाका नेता कुलबहादुर गुरुङसँगै गोबिन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरेसहितका नेता बिपी विचार राष्ट्रिय समाजको नाममा सक्रिय छन् । बिपी कोइरालाको विचारबाट पार्टी नेतृत्व विचलित भएको आरोप लगाउँदै वैचारिक बहसको नाममा आफ्नो प्रभाव विस्तार गर्न लागिपरेका छन् उनीहरू ।

‘पार्टीमा सभापति देउवा र नेता पौडेलको अधोगति सुरु भएको छ,’ गुरुङ निकट एक नेताले भने, ‘कांग्रेसलाई जोगाउन हामी गाउँ तहदेखि नै आफ्नो उपस्थितिलाई बलियो बनाउन अहिलेदेखि नै सक्रिय हुन्छौं ।’

प्रकाशित: २७ पुस २०७३ ०३:०१ बुधबार

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता