राजनीति

प्रधानमन्त्रीले भने-पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो’

प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार भरतपुर उपमहानगरपालिकाको परिषदलाई सम्बोधन गर्दै

चितवन–नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्म जयन्तिको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले शाहको प्रशंसामा प्रशस्तै समय खर्चिएका छन्। त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले साना साना भुरे टाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा पनि रहेको प्रधानमन्त्री दाहालले स्वीकार गरे।

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हुन्छ।

भरतपुर उपमहानगरपालिकाको तेस्रो परिषदको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधामन्त्री दाहालले राजा पृथ्वीनारायण शाहको शालिक भत्काउनु पर्छ भन्ने उन्माद बोकेर हिँडेका आफ्ना पार्टी भित्रका कार्यकर्तालाई  समेत त्यसो नगर भनेर आफूले कडा निर्देशन दिएको बताए। तर पुस २७ गते पर्ने पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिन विदा घोषणा अहिल्यै नै गर्न हतार हुने पनि उनको भनाइ छ।

‘पृथ्वीनारायण शाहको भूमिकालाई नकार्ने भन्ने प्रश्नै छैन। उनले नेपाललाई केन्द्रिकृत बनाउन खेलेको भूमिकालाई सकारात्मक रुपमै लिनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘देशको इतिहासप्रति इमान्दार नागरिकले गौरव गर्नुपर्छ । पृथ्वीनारायण शाहको भूमिकामा पनि हामीले गौरव गर्ने विन्दु छ।’ सामन्ती र केन्द्रिकृत भए पनि भुरेटाकुरे राज्यबाट बलियो राज्य बनाउने कदम प्रगतिशिल कदम नै भएको उनले बताए।

अंग्रेज छिमेकमै भएको समयमा नेपाल एउटा बलियो शक्तिशाली राज्य नहुने हो भने यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा पनि थियो।

‘पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हुन्छ,’ उनले भने, ‘पृथ्वीनारायणले जुन भुमिका खेले, उनले नखेलेको भए त्यस्तो भूमिका कुनै अर्काले खेल्थ्यो। त्यो इतिहासको आवश्यकता भइसकेको थियो।’ साना भुरे टाकुरे राज्यका कारण जनतालाई आपत परिसकेको बेलामा पृथ्वीनारायणले कदम चालेको उनले बताए।

‘छिमेकमा बेलायती साम्राज्य आएका मात्रैले हैन त्यो बेला प्रत्येक राज्य पिच्छे कर तिर्नु पर्ने कारणले व्यपार विनिमयको विकासमा नकारात्मक असर परेको थियो,’ उनले भने, ‘फेरि अंग्रेज छिमेकमै भएको समयमा नेपाल एउटा बलियो शक्तिशाली राज्य नहुने हो भने यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा पनि थियो।’
तर मधेस र आदिवासी जनतातिकाबीचमा शाहको भूमिकालाई कसरी हेर्ने भन्ने बहस रहेको उनले बताए ।

‘त्यो बहसलाई राजनैतिक रुपले टुङ्गो लगाएर मात्रै सरकारले विदा दिने वा नदिने भन्ने कुरा निक्र्यौल गर्नु उचित हुन्छ भन्ने मेरो मत रहँदै आएको छ’, प्रधानमन्त्री दाहालले भने। यो विषय मन्त्रिपरिषदमा दुई पटक छलफल भएको र आफूले यही कुरा राखेको उनले बताए। यो विषयमा राजनैतिक रुपमा छलफल गरेर निकास निकाल्ल आफूले पहल गर्ने उनले बताए ।

राप्रपाका नेता कमल थापासँग मंगलबार साँझ छलफल हुने कार्यक्रम तय भएको र त्यहाँ पनि यसरी नै प्रस्तुत हुने उनले बताए। पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्दै विदा दिन राप्रपाले मात्रै नभएर अन्य वौद्धिक क्षेत्रबाट पनि माग उठ्ने गरेको छ। वामपन्थीहरु नै यो अभियानमा सामेल हुँदै आएका छन्
 

प्रकाशित: २६ पुस २०७३ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App