राजनीति

टुडिखेलमा थारुको दुई दिने माघी महोत्सव हुने, सभामुखद्वारा उद्‍घाटन

काठमाडौं- राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

महोत्सवको उद्‍घाटन माघ १ गते सभामुख ओनसरी घर्तिमगरले गर्नेछिन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाले संयुक्तरुपमा आयोजना गरेको माघी महोत्सवमा मन्त्रीहरुलाई पनि निम्त्याइएको छ। त्यसका अलवा कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रि पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहित, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक एवं सांसद योगेन्द्र चौधरी, माओवादी केन्द्र तथा थारु मुक्ति मोर्चाकका अध्यक्ष सन्तकुमार चौधरी, नयाँ शक्ति नेपालका सुरेन्द्र चौधरी, अभिनेत्री किरिष्मा मानन्धरलगायत अतिथिहरुको उपस्थिति रहरने मूल आयोजक समितिका संयोजक चन्द्रप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार पुस २८ गते तीनकुनेदेखि टुडिखेलसम्म मोटरसाइकल र्‍याली हुनेछ। २९ गते बिहानैदेखि टुडिखेलमा रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। सोही दिन थारुको माग मुद्दा र सबालमा अन्तर्क्रिया हुने उनले बताए। अन्तर्क्रियापछि २९ गते साँझपख मनोरन्जन कार्यक्रमसँगै जीतामार्ना (माघीमा थारुहरुले गर्ने विधि) कार्यक्रम आयोजना गरिने संयोजक चौधरीले जानकारी दिए। पश्चिमका थारुहरुले माघीमा जीतामार्ना गरेजस्तै महोत्सवमा मौलिकपन झल्काउनका लागि यस्तो कार्यक्रम आयोजना गर्न लागिएको चौधरीले बताए।

उनका अनुसार माघ १ गते बसन्तपुरबाट टुडिखेलसम्म झाकी र्‍याली प्रदर्शन गरिनेछ। थारुको परम्परागत पोसाक, गरगहना झाकीमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा थारु ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले बतायो। विभिन्न क्षेत्रमा रहेर देश र समाजको लागि योगदान पुर्‍याइरहेका ब्यक्तित्वहरु सम्मानित हुने संयोजक चौधरीले बताए। उनका अनुसार सम्मानित हुनेमा संस्कृतिविद्व भुलाई चौधरी, साहित्यकार शान्ति चौधरी, कृष्णराज सर्वहारी, उद्यमी शिव चौधरी, समाजसेवी सीएन थारु, स्वास्थ्य क्षेत्रका डा. नरेन्द्र कुमार सिंह, युवा राजनीतिज्ञ मीनराज चौधरी छन्।

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा एथलेटिक्समा चार स्वर्णसहित ६ वटा पदक जितेकी कृष्णा चौधरी, तीन स्वर्ण विजेता केशरी चौधरी, एथलेटिक्स प्रशिक्षक धनिराम चौधरी, करातेका प्रशिक्षक राम चौधरी, फुटबलका आदित्य चौधरी र क्रिकेटका सरस्वती चौधरी पनि सम्मानित हुनेछन्।

कार्यक्रममा थारु समुदायको खानाका परिकारको स्टल पनि राखिने आयोजकले जनाए। मूल आयोजक समितिका अनुसार महोत्सवमा घोङी, ढिक्री, माछा, परेवाको मासु, हाँसको मासु, लड्डु, खिचरीलगायतका परिकारहरुको स्वाद लिन सकिन्छ।

महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ। आयोजकका अनुसार चम्पन साँस्कृतिक समूह, थारु साँस्कृति कला विकास मन्दिर, प्रसिद्धी कला केन्द्र, कृष्ण फिल्मबाट कलाकारहरुको प्रस्तुती रहनेछ। कार्यक्रममा थारुहरुको परम्परागत नृत्य सखिया, लाठी, झुम्रा पनि नाचिने आयोजकले जनाएको छ।

कार्यक्रमको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २६ पुस २०७३ ०८:५८ मंगलबार

टुडिखेलमा थारुको दुई दिने माघी महोत्सव हुने सभामुखद्वारा उद्‍घाटन