राजनीति

दुईपटक संसद 'कोल्याप्स' गर्ने र विखण्डनको नारा बोक्ने दल लोकतन्त्रको लागि घातक हुन्: उपेन्द्र यादव

फाइल तस्बिर

बारा क्षेत्र नं. २ का उम्मेदबार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुई दुई पटक संसद विखटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन्।

बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'आफ्नो नीहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ, यी दुबै दल लोकतन्त्र र सिंगो मुलुकको अत्यन्तै घातक छन्।' यी दुबै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवको दाबी छ।

कुनैपनि विधेयक संसद बाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको र नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपतिले लाखौ युवालाई अवसरबाट बञ्चित गराएको उनले आरोप लगाए।

बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै काठमाडौंलाई बसोबास योग्य बनाउने बाराबासी नै रहेको जानकारी गराउँदै अध्यक्ष यादवले बाराकै नागरिक हरिसिंह देवले काठमाडौको सभ्यता र संस्कृति स्थापित गराएको दाबी गरे।

मधेश जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै त्यही योगदानको प्रतिफल स्वरुप आज मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको उनले उल्लेख गरे।

प्रतिगमनकारी शक्ति विरूद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिर गर्दै उनले विभिन्न कुतत्वहरूले संघियता र लोकतन्त्र माथि प्रहार गरिरहेको जिकिर गर्दै अध्यक्ष यादवले मुलुकको हित र लोकतन्त्रको रक्षाको लागि गठबन्धनको साझा उम्मेदबारहरुको विजय अपरिहार्य रहेको तर्क गरे।

जनतामा एकता र गठबन्धन मजबुत रहेसम्म लोकतन्त्र माथि कुनै पनि प्रकारको खतरा आउन नसकने ठहर गर्दै अध्यक्ष यादवले जात जातिकोे कुरा गरेर जनता भाड्ने भिडाउने कार्य गरी लोकतन्त्रलाई सखाप पार्न अनेक तत्वहरु लागिपरेको जिकिर गरे।  

प्रकाशित: १ वैशाख २०८० ११:३३ शुक्रबार

उपेन्द्र यादव जसपा