राजनीति

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

दमक- भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ।

कमिटीले आज एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग्रह गरेको हो । तेत्तीस शरणार्थीको हस्ताक्षर रहेको अपिलपत्र उच्चायोगको जेनेभास्थित कार्यालयमा पठाइएको कमिटी संयोजक कृष्णवीर तामाङले जानकारी दिए।

कमिटीले स्वदेश फिर्तीका लागि निरन्तर सङ्घर्ष गर्दै आए पनि शरणार्थीलाई विभिन्न मुलुकमा पुनर्वास गराएर छिन्नभिन्न बनाएको आरोप पनि लगाएको छ । पुनर्वास कार्यक्रमअन्तर्गत भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउने काम अन्त्यतिर आइपुग्दा स्वदेश फिर्तीका लागि उच्चायोग नै अन्तिम विकल्प भएको ती शरणार्थीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शरणार्थी शिविरमा शरणागत जीवन बिताउँदै आएकालाई रासन–पानीसमेत बन्द गरिएकामा पनि कमिटीले आपत्ति जनाएको छ। रासस

 

प्रकाशित: २५ पुस २०७३ १३:२३ सोमबार

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल