राजनीति

मुलुकको प्रमुख समस्या एमाले : ठाकुर

बारा- तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा देखा परेको वर्तमान समस्याको जड एमाले रहेको बताएका छन्। दलित सम्मेलन एवं दलितसँग सहभोज कार्यक्रमलाई शनिबार बाराको सदरमुकाम कलैयामा सम्बोधन गर्दै नेता ठाकुरले सर्वोच्च अदालतले पनि संविधान संशोधनको बाटो खुला गरिदिएको अवस्थामा एमालेले त्यसको विरोध गरेर देशमा अनावश्यक समस्या खडा गरेको  बताए।

मधेसी, दलित र पिछडिएका वर्गलाई अधिकार नदिन एमालेसहित विपक्षी दलले संविधान संशोधनको विरोध गरेको उनको भनाइ थियो।

एमालेसहितका राजनीतिक दलले संशोधन प्रस्तावको विरोधमा संसद् अवरोध गरेर मधेससँग राजनीतिक बेइमानी गरिरहेको आरोपसमेत ठाकुरले लगाए।

'संविधान संशोधन प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीले समर्थन जनाइसकेको अवस्थामा त्यसको विरोध गरेबाट एमालेले विभेदकारी नीति लिएको प्रस्ट भएको छ', ठाकुरले भने, 'विभेदकारी नीति अन्त्य नभएसम्म आन्दोलन जारी नै रहन्छ।' दलितसँग खानपिन गर्दा कसैलाई अहित नहुने समेत ठाकुरले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै तमलोपाका महामन्त्री जितेन्द्र सोनलले तराई मधेसमा छुवाछूतको भावना अहिले पनि रहेको बताए। मधेसी समुदायले यस क्षेत्रमा रहेको छुवाछूत परम्परा अन्त्य गर्न सामाजिक स्तरमा चेतना फैलाउनुका साथै देशका शासक वर्गको विभेदकारी नीतिको समेत विरोध गर्नुपर्ने समय आएको सोनलले बताए।

प्रकाशित: २४ पुस २०७३ ०२:३७ आइतबार

मुलुकको प्रमुख समस्या एमाले ठाकुर