राजनीति

आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने सत्तापक्षको निर्णय

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे कांग्रेस, माअाेवादी र मधेसी माेर्चाकाे बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच २४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएको छ। बिहीबार भएको त्रिपक्षीय बैठकमा आगामी संविधान संशोधन प्रस्ताव टेवल गर्ने निर्णय भएको हो।

सर्वोच्चको फैसलापछि संशोधन प्रक्रिया अगाडि बढाउन सहज भएको निष्कर्ष निकाल्दै बैठकले सकेसम्म एमालेकै सहमतिमा संशोधन प्रस्ताव टेवल गर्ने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव टेवल हुनेमा शंका नगर्न मोर्चाका नेतालाई आग्रह गरेका थिए। उनले संशोधन प्रस्ताव आइतबार बस्ने बैठकमा टेवल गर्ने र प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन सबैले सक्रियता लिनुपर्ने बताएका थिए।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री विमलेन्द्र निधिले  भने, ‘आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएको छ। सर्वोच्चको फैसलापछि एमालेले अवरोध गर्दैन भन्ने हामीले विश्वास लिएका छौं।’ संशोधन प्रस्तावमाथि छलफल गर्ने क्षेत्राधिकार संसदको भएको सर्वोच्चले फैसला गरेपछि त्यसलाई एमालेले पनि मान्नुपर्ने उनको भनाइ थियो।  

मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले  सरकारले संशोधन प्रस्ताव टेवल गरेपछि मोर्चाले संशोधन परिमार्जन गर्न संशोधन हाल्ने बताए।  उनले प्रस्तावका पक्षमा दुई तिहाइ पुर्याउन मधेसी मोर्चापनि सक्रिय हुने बताए।  
 

प्रकाशित: २१ पुस २०७३ ११:१८ बिहीबार

आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने सत्तापक्षको निर्णय