राजनीति

व्यवस्थामै भएको दोषका कारण समस्या आएको होः लिङदेन

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनसहित राप्रपाका नेताहरु। तस्बिरः सन्देश÷नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले व्यवस्थाका कारण बारम्बार समस्या आइरहेको बताएका छन्।  राप्रपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अहिले जतिपनि भ्रष्टाचार र कमिसन काण्डहरु आईरहेका छन् ती सबै खराब व्यवस्थाका कारण आईरहेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडियो काण्डबारे आफ्नो धारणा राख्दै उनले भने,‘अहिलेको व्यवस्थामै दोष छ। यहि कारण यस्ता खालका घट्ना बारम्बार दोहोरिरहेका छन्।’ उनले व्यवस्था परिवर्तन नभएसम्म अवस्था परिवर्तन नहुने समेत ठोकुवा गरे।

अध्यक्ष लिंग्देनले आफ्नो पार्टीमा भ्रष्टाचार गर्ने कोहि भएपनि कारवाहीको भागिदार हुने बताए। ‘एक रुपैयाँ मात्रपनि कसैले खाएको प्रमाणित गरे म त्यसको नोकर बस्न तयार छु’–उनले भने। उनले श्रेष्ठको अडियो काण्डबारे अख्तियारले नै छानविन गरिरहेकाले चाँडै यसको सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरे।

अध्यक्ष लिंग्देनले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक फास्ट ट्रयाकबाट पारित हुन नहुने बताए। सरकार भनेको कुनै एक पार्टी वा एकपक्षीय मात्रैको होईन, उनले भने, ‘सरकार सबै पक्षको अभिभावक हो। त्यसैले सबै पक्षलाई बराबरी रुपमा हेर्नुपर्छ ।’ उनले अहिले राज्य एकपक्षीय रुपमा प्रस्तुत भएको हो कि भन्ने देखिएको बताउँदै उनले थपे, ‘अहिले एकपक्षलाई मात्रै न्याय दिलाउने, द्वन्द्वका अन्य पीडितहरुलाई उपेक्षा गर्ने र उनीहरुको घाउमा अझ नूनचुक छर्नेगरी राज्य प्रस्तुत भएको छ।’ उनले द्वन्द्वमा राज्य वा विद्रोही दुबै पक्षमा नलागेका तर सबैभन्दा बढी जनधनको क्षती ब्यहोरेका बास्तविक पीडित सर्वसाधारण जनता भएकाले उनीहरुलाई न्याय दिलाई छाड्नुपर्नेमा जोड दिए।  

अध्यक्ष लिंग्देनले सरकारले अर्थतन्त्र सुधारतर्फ ध्यान नदिएको आरोप लगाए। उनले अहिले राज्यका ठूलठूला संस्थान र कम्पनीहरु लगानी गर्नुको सट्टा बैंकमा पैसा राखेर ब्याज खाने संस्थामा परिणत भएको बताए। सरकार नियन्त्रित संस्थान र कम्पनीहरुको ब्याजदर मात्रै घटाउने हो भनेपनि नीजि क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुले तिर्नुपरेको चर्को ब्याजदर घटाउन सकिने अवस्था रहेको उनले बताए। यसले अर्थतन्त्रलाई थोरै भएपनि ट्रयाकमा ल्याउने उनको दाबी छ।

अध्यक्ष लिंग्देनले कित्ताकाट खुलाउने सरकारको संकेत सकारात्मक रहेको बताए। हिजो कुनै तयारी बिना नै कित्ताकाटमा रोक लगाउँदा खर्बौं राजश्व गुमेकाले यो खुलाउनु सकारात्मक भएको उनको भनाई थियो। उनले जग्गाको वर्गिकरण वैज्ञानिक रुपमा नभईरहेकाले त्यसको काम सकिनुअघि नै कित्ताकाट खुलाउँदा समस्या नहुने जिकीर गरे। अध्यक्ष लिंग्देनले उप–चुनाव जनमत बुझ्नका लागि महत्वपूर्ण भएपनि यसले पार्टीको हैसियत र अहिलेको सत्ता समीकरणमा कुनै असर नपार्ने बताए। उनले उप–चुनावमा आफ्नो पार्टीले जित्ने अवस्था नभएपनि मत सुधार हुने विश्वास व्यक्त गरे।

प्रकाशित: २८ चैत्र २०७९ ११:१९ मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेन