संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चाँडै नयाँ पर्यटन ऐन ल्याउने बताएका छन्।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए।
'म भन्दा जेठो पर्यटन ऐनले केही लछारपाटो लगाउँदैन, उनले भने, त्यसैले यो ऐन फेर्दैछौं। हामी अहिलेको समयसापेक्षित पर्यटन ऐन ल्याउँदैछौं।’
पर्यटन मन्त्री किराँतीले नयाँ पर्यटन ऐनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने बताए। 'अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नुपर्नेछ, उनले भने, अप्ठेरो पर्ने नीति नियम फुकाउँछु। पर्यटनलाई उद्योगको रुपमा विकास गर्न सकिएन भने पर्यटनको विकास र बिस्तार हुँदैन। त्यसैले यसलाई सम्बोधन गर्न जरुरी छ।’ उनले पर्यटक भित्राउने भनेको विदेशी रुपैयाँ भित्राउने विषय पनि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिए।
मन्त्री किराँतीले पर्यटन ऐन बनाउन आफू फाइल लिएर मन्त्रालय पुग्नेदेखि संसद्मा बहस गर्नसमेत तयार रहेको बताए। आफू पर्यटन नीति बनाउन तयार भएजस्तै अरुलेपनि आ–आफ्नो जिम्मेवारी भने सम्हाल्नुपर्ने उनको भनाई थियो।
उनले भने, 'म पर्यटन नीति बनाउँछु, पर्यटन वोर्डले प्रचारको काम गरोस्, प्रवर्द्धनको काम गरोस्। पर्यटन विभागले संरचनागत काम गरोस् अनि तपाईँ व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ।’
अहिले एकले अर्कोलाई आरोप लगाएर भाग्ने प्रवृत्ति रहेको भन्दै यो प्रवृत्ति भने त्याग्नुपर्ने उनको भनाई छ। उनले होटलमा सेवा प्रभावकारी नभएको र संस्कृति पनि विकृतितर्फ उन्मुख हुँदै गएकाले यो सुधार्न जरुरी रहेकोमा जोड दिए।
मन्त्री किराँतीले अहिले देशमा ठुलो ठुलो कुरा गर्ने तर सानो पनि काम नगर्ने प्रवृत्ति रहेकाले देशले विकास गर्न नसकेको बताए। 'म बिस वर्ष पछिको कार्यक्रम घोषणा गर्ने पक्षमा छैन, उनले भने, म आजको कार्यक्रम घोषणा गर्छु। आज राम्रो भयो भने बिस वर्षपछि त्यसै राम्रो हुन्छ। आज वरको सिन्का पर नसार्ने, तर बिस वर्ष पछाडिको योजना र कार्यक्रम घोषणा गर्ने र लथालिङ्ग बनाउने हाम्रो बानी छ।’
उनले आफू पाइलट नभई र्याफ्टिङको यात्री बनेर काम गर्ने बताए। 'म पाइलट भएर जहाजको ककपिटमा बसेर लामो गन्तव्यमा जान चाहने यात्री होइन। बरु म र्याफ्टिङको यात्री हुँ, जहाँ सँगै यात्रा गर्न चाहन्छु, अप्ठेरोमा पनि सँगै, सजिलोमा पनि सँगै यात्रा गर्ने। र्याफ्टिङ गर्दा भंगालोमापनि सँगै, पानीको भुमरीमापनि सँगै, सँगै पानीमा भिज्छौं, सँगै मनोरञ्जन लिन्छौं। र सँगै गन्तव्यमा पुग्छौं’ उनले भने।
मन्त्री किराँतीले पर्यटनबाटै परिवर्तन र विकास सम्भव रहेको बताए। त्यसैले आफूले “घुमौँ नेपाल, हेरौँ प्रकृति र चिनौँ संस्कृति” भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहेको बताए। पोखरालाई ब्राण्डिङ र रिब्राण्डिङ गर्न पनि सुझाव दिए। यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्ने उनको भनाई थियो।
कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा (शेरु) ले पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने बताए।
नीति तथा योजना आयोग गण्डकी प्रदेश सदस्य डा.सुवास अधिकारीले पर्यटन क्षेत्रलाई पुरानो लयमा फर्काउनका लागि राज्यले पर्यटन ऐन सच्याउनुपर्ने र नयाँ कार्यक्रम र योजना ल्याउनुपर्ने बताए।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीनाथ ढुंगानाले संघले पर्यटन ऐन नबनाउँदा पर्यटनको विकास र बिस्तारमा समस्या आइरहेको बताए। गण्डकी प्रदेशले पर्यटन ऐन ल्याए पनि सङ्घको नआउँदा समस्या भएकाले चाँडै ऐन ल्याउन संघ सरकारलाई आग्रह गरे।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेलले पर्यटन क्षेत्रमा गुणस्तर कायम गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक सुधार गर्न वोर्ड तयार रहेको बताए। होटल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर नेपालले होटल व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण नै खराब रहेको गुनासो गरे।
होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले राज्यले साना होटल व्यवसायीलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको आरोप लगाए। विदेशी पर्यटक स्तरीय होटललाई मात्र प्राथमिकता दिने तर साना तथा मझौला होटल व्यवसायीलाई राज्यले विभेद गर्ने गरेको उनको आरोप थियो। उनले विदेशी होस् कि स्वदेशी जुनसुकै पर्यटकलाई सेवा दिने होटललाई राज्यले समान रुपमा हेर्नुपर्नेमा जोड दिए।
गण्डकीमा रहेका करिब ८ हजार होटल तथा रेस्टुरेन्ट व्यवसायीको छाता संस्था होटल व्यवसायी महासंघ गण्डकीमा १७ वटा जिल्लास्थित होटल व्यवसायी संघ तथा समिति आबद्ध छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए।
प्रकाशित: २५ चैत्र २०७९ १३:३१ शनिबार