राजनीति

बिपीको मेलमिलाप नीतिबाट कांग्रेस विचलित

काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले बिपी कोइरालाको मेलमिलाप नीतिलाई सत्ता र शक्तिमा पुग्न नभएर मुलुकको आर्थिक र राजनीतिक स्थिरतामा उपयोग गर्नुपर्ने बताएका छन्। संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन बिपीको मेलमिलाप नीति सान्दर्भिक रहेको बताएका हुन्।

बिपी विचार राष्ट्रिय समाजले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसनेता कुलबहादुर गुरुङले सत्ता प्राप्तिका लागि हुने सहमति र सम्झौता मेलमिलाप नीति नभएर षड्यन्त्र मात्र भएको दाबी गर्दै भने, 'मेलमिलाप निकासका लागि हुनुपर्छ। सत्तामा पुग्नका लागि होइन।'

सहमति र मेलमिलाप सत्तामा पुग्न र हटाउनका लागि मात्र भइरहेको तर्क गर्दै गुरुङले भने, 'यसले नेपाललाई समाप्त पार्ने काम गर्छ। देशलाई बचाउन र अघि बढाउन मेलमिलाप हुनुपर्छ।'

मुलुकको कठिन राजनीतिक अवस्थामा बिपी २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै गुरुङले निर्वासनमा रहँदा बिपीले आफूलाई नेपालको प्रधानमन्त्री बनाइदिने र नेपालमा बहुदलीय व्यवस्था स्थापना गराइदिने प्रस्ताव अस्वीकार गरेको सुनाए। 'प्रधानमन्त्री तपाईंहरूको हुन्छ, म प्रधानमन्त्री हुन्नँ,' गुरुङले बिपीको भनाइ स्मरण गर्दै भने, 'बहुदलीय व्यवस्था स्थापनामा पनि उहाँको कुरा त्यही थियो तर अहिले त्यस्तो छैन।'

भारतमा बस्नु र नेपाल फर्कनु बिपीका लागि दुबै उत्तिकै चुनैतीपूर्ण रहेको स्मरण गर्दै उनले भने, 'त्यसबेला गणेशमान सिंहले भारतमा बस्नु मन्द विष हो भने नेपाल जानु आत्महत्या गर्नु हो भन्नुभएको थियो।'

बिपीकै आग्रहअनुसार २०३३ साल कात्तिक २५ गते निर्वासनबाट स्वदेश फर्किएका गुरुङले भने, 'आफूभन्दा पहिला कोही नेपाल गइदिए हुन्थ्यो भन्ने उहाँको आशयअनुसार हामी आएका थियौं।'

त्यतिबेला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग बिपीको कटुतापूर्ण सम्बन्ध थियो भने नेपालमा उनीविरुद्ध मृत्युदण्डसहितका सात मुद्दा थिए।

अहिले बिपीलाई सम्झने कि उनको विचार अनुसरण गरेर पार्टीलाई अघि बढाउने भन्ने प्रश्न गम्भीर रुपमा उठेको बताउँदै उनले भने, 'हामीले बिपीलाई सम्झेर उनको विचार आत्मसात् गर्नुपर्‍यो।'

कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नेपालको निर्णय भारतबाट गर्दा ठीक हुँदैन भनेर बिपी आफूविरुद्धका सात मुद्दाको प्रवाह नगरी स्वदेश फर्केको स्मरण गरे। १२ बुँदे समझदारीपछि निर्णय भारतबाटै हुने गरेको संकेत गर्दै उनले भने, 'मेलमिलाप नीतिलाई गायत्रीमन्त्र मान्दा नेपाल बेद थियो। अहिले १२ बुँदेलाई गायत्रीमन्त्र मान्दा भारत बेद भएको छ।'

कांग्रेस कमजोर हुँदा लोकतन्त्र र मुलुक नै संकटमा पर्ने भन्दै जोशीले बिपी विचारबाट पार्टी विचलित बनेको गुनासो गरे। 'आफ्नो पार्टी नाम पनि नेपाली राख्न नसक्नेहरूले राष्ट्रवादी नारा लगाइरहँदा कांग्रेस भने चुप लागेर बस्ने अवस्था आएको छ,' उनले भने, 'यसले कांग्रेस नै बिलाउने हो कि भन्ने डर छ।'

कांग्रेसका अर्का नेता विनयध्वज चन्दले पार्टीमा विचारभन्दा सत्ता र पैसा हाबी भएको सुनाउँदै भने, 'पार्टीमा वैचारिक विचलन आयो।' बिपी विचारलाई गाउँ तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता  जनाउँदै चन्दले भने, 'कांग्रेसबाट बिपी होइन, बिपीबाट कांग्रेस जन्मेको हो। उहाँको नीति र विचार अहिले झन् बढी सान्दर्भिक भएको छ।'

यसैबीच एक अर्को कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले मधेसको आवाज सम्बोधन गर्ने पार्टी पहललाई अराष्ट्रिय कदम भन्ने विपक्षी एमालेे तर्क गलत भएको बताए। ४० औं एकता तथा मेलमिलाप दिवस अवसरमा शनिबार काठमाडौं–८ ले आयोजना गरेको कार्यक्रममा सिंहले भने, 'संविधान संशोधन आफैंमा एउटा कार्यान्वयन तह हो। संविधान मेरो पनि हो भन्ने भावना विकास गर्न तराई– मधेस, आदिवासी थारु आदिको सर्वस्वीकार्यता बढाउन आवश्यक छ।'

कोइराला २०३३ साल पुस १६ गते मेलमिलाप नीतिसहित निर्वासन छाडेर स्वदेश फर्केका थिए। सोही दिनको स्मरणमा नेपाली कांग्रेसले बर्सेनि पुस १६ मा मेलमिलाप दिवस मनाउँदै आएको छ।

प्रकाशित: १७ पुस २०७३ ०२:३१ आइतबार

बिपीको मेलमिलाप नीतिबाट कांग्रेस विचलित