राजनीति

चुनाव तयारीमा रहन गृहमन्त्रीको निर्देशन

गोरखा- उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र नीधिले जिल्लाका सरकारी कार्यालय प्रमुखलाई चुनावका लागि तयार रहन निर्देशन दिएका छन्। जिल्लाको अवस्थाबारे जानकारी लिन शनिबार कार्यालय प्रमुखसँग गरेको अन्तर्त्रि्कयामा उनले भने, '२०७४ को माघभित्र तीनवटै निर्वाचन सक्नुपर्छ, तपाईंहरू मानसिक रुपमा तयारी हुनुहोस्।'

अहिलेकै संरचनामा कि नयाँ संरचनामा स्थानीय निकायको निर्वाचन भन्ने टुंगो दलहरूको सहमतिबाट हुने उनले बताए। 'तर चुनाव समयमै गरिन्छ', उनले भने, 'स्थानीय तह वा निकाय जेको भए पनि ढिलोमा वैशाख दोस्रो हप्तासम्म निर्वाचन हुन्छ, यही सरकारी योजना पछ्याएर अघि बढ्नुहोस्। यो दलको मात्रै हैन, सरकारको पनि योजना हो।'

कार्यक्रममा निधिले सबैभन्दा पहिले जिल्ला निर्वाचन कार्यालयका प्रमुखसँग मतदाता नामावली संकलनको अवस्थाबारे जानकारी लिएका थिए। निधिले स्थानीय तहको पुनःसंरचनालाई ध्यानमा राखेर सरकारी कार्यालयका गतिविधि अघि बढाउन सुझाव दिए।

कार्यालय प्रमुखहरूले दरबन्दी रिक्त हुँदा समस्या भएको गुनासो गरेपछि निधिले पुनःसंरचनापछि प्रदेशबाट नै कर्मचारी पदपूर्ति हुने बताए। भूकम्पपीडितको गुनासो सुनुवाइमा ढिलाइ भएको, पुनर्निर्माणले गति लिन नसकेको, सरकारी कार्यालयमा बजेट अपुग भएको, दरबन्दीअनुसार चिकित्सक नभएको, बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण भए पनि वितरण हुन नसकेको लगायत जिल्लाको समस्याबारे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृहमन्त्रीलाई जानकारी गराएका थिए। समस्या सुनेपछि निधिले निर्देशन दिनेमात्र नभई अवस्था बुझेर कार्यान्वयनमा सघाउन आफूले अन्तर्क्रिया कार्यक्रम राखेको बताए।

जिल्लाको शान्ति सुरक्षा अवस्था, जडीबुटी, जग्गाजमिन, खानेपानीको अवस्था, शिक्षा, स्वास्थ्यलगायतको सेवा प्रवाहबारे गृहमन्त्रीले जानकारी लिएका थिए।

'एमालेले मुडे बल देखायो'

उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्मा संविधान संशोधन प्रस्तावबारे छलफल हुन रोकेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुडेबल देखाएको आरोप लगाएका छन्।

उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा सञ्चालित नौदिने गोरखा महोत्सव समापन गर्दै शनिबार निधिले भने, 'चित्त बुझ्दैन भने प्रस्तावको विपक्षमा मतदान गरे हुन्छ। संसद् रोक्ने अधिकार कसैलाई हुँदैन, यो संविधानविपरीत छ।' एमाले आफैंले पहिले प्रस्ताव गरेकै विषय संशोधनका लागि प्रस्ताव गरिएको दाबी गर्दै निधिले भने, 'आफू सरकारमा भएका बेला त्यही कुरा, अरु बेला बेठीक भन्नु कत्तिको जायज हो?'

कार्यक्रममा उनले भूकम्पपछिको पुनर्निर्माण चुस्त बनाउने, गोरखा र धादिङको सिमानामा बन्न लागेको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण सहज पार्ने, आयोजना निर्माण गर्ने, उत्तरी गोरखाको मनास्लु पदमार्ग निर्माणको जिम्मा सेनालाई दिएको जस्ता विषयमा जानकारी गराएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलगायतको पनि उपस्थिति थियो।

प्रकाशित: १७ पुस २०७३ ०२:२९ आइतबार

चुनाव तयारीमा रहन गृहमन्त्रीको निर्देशन