राजनीति

हरेक नारीलाई ‘हिम्मतवाली’बनाउँछु: नायिका रेखा थापा

दाङ–माओवादी  केन्द्र त्यागेर राप्रपा राजनीतिमा प्रवेश गरेकी नायिका रेखा थापाले प्रत्यक नारीलाई ‘हिम्मतवाली’ बनाउने आफ्नो राजनीतिक मिशन भएको बताएकी छिन्। हिम्मतवाली नायिका थापाले घोराहीमा जागरण अनलाई मिडियाले शनिबार गरेको पत्रकार सम्मेलनमा भनिन्, ‘म जस्तै हरेक नारीलाई हिम्मतवाली बनाउने मेरो राजनीतिक मिशन हो।’ चलचित्रमा मात्रै महिलाका सवालमा देखाएको शक्ति अब बास्तविक जीवनमै देखाउने उनको प्रण छ। ‘राम प्यारी अनि हिम्मतवालीको जस्तो हिम्मत अब म रियल लाइफमै शो गर्छु’, उनले भनिन्।

महिला शसक्तिकरणकै लागि लड्ने बताएकी उनले १० बर्ष भित्रमा हरेक महिला हिम्मतवालीकी रेखा थापा जस्तै सशक्त बन्ने दाबी गरिन्। महिलाहरुकै प्ररेणबाट आँफू औपचारिक रुपमा राजनीतिमा लागेको बताएकी थापाले भनिन्, ‘फिल्ममा जस्तै महिलाहरुका लागि रियल लाइफमा पनि भूमिका खेल्नुस भनेर महिला दिदी बहिनीहरुले भनेकै कारण म राजनीतिक फिल्डमा आएको हुँ ।’

फिल्म दौरानकै क्रममा पछि पारिएका महिलाहरुको कथा व्यवथाले आँफूलाई मर्माहत बनाएको र त्यस्ता महिलाहरुको आवाज सम्वोधनका लागि नीति निर्माण तहमा आँफू पुग्नै पर्ने आवश्यक्ता महशुश गरेको उनले बताइन् । ‘महिला मुद्दाका सवालमा निर्णयक तहमै म पुग्नु पर्छ भन्ने चेतना अभिवृद्धि भएको हो,’ उनले भनिन्, ‘म महिला सीट निर्धारण होइन, हरेक महिलाले न्याय पाउनुपर्छ भन्ने पक्षमा छु ।’  

माओवादी केन्द्र परित्याग गरेर राप्रपामा प्रवेश गर्नुको कारण प्रष्ट्याउँदै उनले भनिन्, ‘म जनता नायक भएको पार्टी रुचाएर आएको हुँ ।’ माओवादीका दुईचार सिद्धान्तले आँफूलाई छोएका कारण त्यता प्रवेश गरेको भएपनि पिार्टीभित्रको बिचलनले आँफू त्यहाँ टिक्न नसकेको उनको भनाइ छ । ‘माओवादीभित्र सत्ताको चरम खेलमात्रै पाएँ,’ उनले भनिन्, ‘पार्टीका ऐजेण्डाहरु जुन मैले अपेक्षा गरेको थिएँ, ती ऐजेण्डाहरु गुमनामै भए, अनि मलाई माओवादी राजनीति ठिक लागेन।’

उनले माओवादीको जातीय ऐजेण्डा आँफूलाई मन परेको तर त्यो ऐजेण्डामा माओवादी सफल हुन नसकेपछि आँफू परिवर्तन हुनु परेको बताइन्। ‘जातीय मुद्दालाई माओवादीले जोडतोडले उठाएको थियो र मलाई सबै भन्दा उसको यही ऐजेण्डा मन परेको हो,’ उनले भनिन्, ‘तर माओवादी यो मुद्दाबाट पूरै सेलायो ।’

राष्ट्रियता नजोगिए आफ्नो कलाकारिता पनि नबच्ने भएकाले राष्ट्रिय हितका सवालमा आँफू सदैब गम्भिर बन्ने बताइन् । ‘म राष्ट्रबादी हुँ,’ उनले भनिन्, ‘जव राष्ट्रियता बच्दैन, तव मेरो कलाकारिता पनि सकिन्छ,त्यसैले राष्ट्रियताबादको नारा बोकेको राप्रपाबाटै म राष्ट्रियता संरक्षण गर्ने सवालमा सदैब लागिरहने छु।
 

प्रकाशित: १६ पुस २०७३ ०७:१६ शनिबार

हरेक नारीलाई हिम्मतवालीबनाउँछु नायिका रेखा थापा