राजनीति

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसको कसरत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा नेपाली कांग्रेसले निर्वाचनको मिति घोषणा गरेर अघि बढ्न जोड दिएको छ।

मंगलबार प्रधानमन्त्रीको आह्वानमा सत्तारुढ दल र मधेसी मोर्चाबीच बैठक बसेको थियो। 'संशोधन सहित स्थानीय निर्वाचनमा जाने गरी सहमति खोज्ने प्रयास भएको छ', कांग्रेस नेता रामचन्द्र पौडेलले भने, 'एमालेसँग पनि यस विषयमा छलफल हुन्छ।'

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह गरे पनि निकाय गरे पनि निर्वाचनको मिति घोषणा गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। उनले  संविधान संशोधन प्रस्ताव पनि संगै लैजानु पर्ने बताएका थिए। यता बैठकमा कृष्ण सिटौलाले जुन दिनमा संविधान संशोधन विधेयक पेश हुन्छ त्यही दिनमा निर्वाचनको मिति पनि घोषणा गर्नु पर्ने बताएको बैठकमा सहभागि एक नेताले बताए।  

स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले यो तपाइहरुको पार्टीको निर्णय होला यहाँ नसुनाउनुस्, ठोष निष्कर्ष निकालौं भनेका थिए।  

 बैठकमा संविधान संशोधन भए मधेसी मोर्चा निर्वाचनमा जान तयार भएएको मधेसी नेताहरुले बताएका थिए।  

मोर्चाका नेताहरुले बैठकमा निर्वाचन र संविधान संशोधनको प्रस्ताव संगसँगै लैजानु पर्ने धारणा राखेका थिए।

संविधान संशोधन प्रस्ताव र निर्वाचन सम्वन्धी विधेयक सँग सँगै लैजाने भए आफुहरु स्थानीय निर्वाचनमा जान तयार भएको बैठक पछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए। दुवै विषयलाई सँग सँगै लगेर टुंग्याउनु पर्ने उनको भनाई छ।  

संविधान संशोधनको प्रस्ताव संसदमा टेवुल गर्न नदिनु गलत भएको तमलोपाका नेता हृदयस त्रिपाठीले बताए।  'संसदीय व्यवस्थामा रहेपछि विधेय टेवल गर्न दिनु पर्छ,' उनले भने, 'पास फेल त्यहीँ हुन्छ।' प्रतिपक्षले पैँचो लिए जसरी  संसद अवरोध गर्नु ठिक नभएको उनले बताए।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा ठोष सहमति नभएको बताए।

 

प्रकाशित: १२ पुस २०७३ १४:४८ मंगलबार

निर्वाचनको घोषणा गर्न कांग्रेसको कसरत