राजनीति

रवि लामिछानेको उम्मेदवारी विरुद्ध चारवटा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्ध चितवनमा चारवटा उजुरी दर्ता भएका छन्।

बैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछाने विरुद्ध राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरी सुवेदीले उम्मेदवारी दिएका छन्।

उनीहरुले नेपाली नागरिकता लिएको समय अवधि नपुग्ने भएकाले उम्मेदवारी रद्ध गर्न अनुरोध गरेका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेद्वार जनकराज शर्माको तर्फबाट उजुरी दिएका जिल्ला अध्यक्ष डम्बर पुरीले लामिछानेले नागरिकता लिएको तीन महिना नपुगेकाले उम्मेदवारी खारेज गर्न माग गरेका छन्।

लामिछानेले माघ १५ गते मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएका थिए। ‘सोही अवधिबाट अमेरिकाको नागरिकता एंव स्थायी आवशिय अनुमतिपत्र त्याग गरेको आपचारिक रुपमा जानकारी भएको हुँदा सो समयबाट उम्मेदवारी दर्ता गर्दा र निर्वाचनको दिनसम्म पनि तीन महिना व्यथित नभएको हुँदा धारा २९१ अनुसार लामिछानेलाई उम्मेदवार हुन अयोग्य घोषित गरिपाउँ’– पुरीले दिएको उजुरीमा लेखिएको छ। उनले नेपाली नागरिकता पुनः प्राप्तिमा समेत कानुनी प्रकृया नपुराएको जनमोर्चाले ठहर गरेको छ। उसले अमेरिकी सरकार र अमेरिकी राजदुतावासले प्रमाणित गरेको निस्सा पेश नगरी नेपाली नागरिकता लिएको दावि गरेको छ।

स्वतन्त्र उम्मेदवार सन्तोस थापा र उम्मेदवार अम्विका भट्टका प्रतिनिधि शिवहरी सुवेदीले पनि रवि विरुद्ध दावि विरोधका लागि उजुरी दिएका हन्। यस्तै युवराज पौडेल(सफल)ले पनि नागरिकताको समय अवधिलाई लिएर लामिछानेको उम्मेद्वारी रद्द गर्न माग गरेका छन्। उनले काठमाडौँबाटै इमेलमार्फत एउटा उजुरी दर्ता गरेका हुन्।

उम्मेदवारका प्रतिनिधिले दर्ता गरेको उजुरीमाथि निर्वाचन अधिकृतले जाँच बुझ गरि आवश्यक निर्णय गर्ने छन् भने युवराज पौडेलले दर्ता गरेको उजुरीको बारेमा लामिछानेसँग स्पष्टीकरण लिएर कागजपत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई आफू विरुद्ध परेको उजुरीको सम्बन्धनमा भोलि दिउँसो १ बजेसम्म प्रमाण र भनाईसहित जवाफ पेश गर्न अनुरोध गरेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा लामिछानेकै कारण उपनिर्वाचन हुन लागेको हो। सर्वोच्च अदालतले लामिछानेलाई माघ १३ गते नागरिकतामा दोषि ठहर गरेपछि चितवन २ खाली भएको हो। यसअघि लामिछानेले अत्याधिक मतका साथ विजयी भएका थिए।  

प्रकाशित: २१ चैत्र २०७९ १२:१७ मंगलबार