राजनीति

कोर मधेसमा एमालेको प्रशिक्षण

लाहानमा कार्यकर्तालाइ प्रशिक्षण दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनाल।

लहान–नेकपा एमालेले शुक्रबारबाट लहानमा सप्तरीदेखि पर्षासम्मका जिल्लास्तरीय नेताकलाई भेला पारी प्रशिक्षण सुरु गरेको छ। एमालेमाथि लाग्दै आएको मधेस बिरोधी आरोपको जवाफ दिन जिल्ला नेतालाई शीर्ष  नेताहरुले प्रशिक्षित गर्दै छन्।

प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘अहिले संविधानमा संशोधन गर्नुभन्दा कार्यान्वयन गर्नु जरुरी छ।’ संविधान लागू गर भन्दा मधेसी विरोधीको आरोप लगाउनु अनुचित भएको नेपालको भनाइ छ । ‘मधेसको नाममा पटक पटक मन्त्री भएकाहरु आफ्नो गाउँमा बाटोसम्म बनाउन नसक्ने अनि हामीलाई मधेस बिरोधी भन्ने ?,’ उनले भने , ‘झुठा प्रचारको भुलभुलैयामा नपर्नुस्।’

‘मधेसको नाममा पटक पटक मन्त्री भएकाहरु आफ्नो गाउँमा बाटोसम्म बनाउन नसक्ने अनि हामीलाई मधेस बिरोधी भन्ने ?,’ उनले भने , ‘झुठा प्रचारको भुलभुलैयामा नपर्नुस्।’

संसदमा दर्ता भएको संशोधन प्रस्तावको संवैधानिक औचित्य नै नरहेको तर्क गर्दै उनले भने, ‘प्रदेश सीमांकन हेरफेर प्रदेशसभाको अनुमोदन बेगर हुन सक्दैन।’ संविधान लागू नभएसम्म र प्रदेशसभा नबनेसम्म सीमांकन हेरफेर गर्नु संविधानतः अनुपयुक्त, अव्यवहारिक र अलोकतान्त्रिक भएको उनको भनाइ थियो।

नेता नेपालले मधेसी दलले मात्र नभएर एमाले भित्रकै मधेसी नेताहरुले मधेसलाई पछाडि पारेको गुनासो गर्ने गरेको उल्लेख गर्दै नेता नेपालले भने, ‘मधेसलाई कसले पछाडि पार्यो ? मधेसी कसरी पछाडि परे ? राणाकालमा खुलेका चार स्कुलमध्ये तीन स्कुल मधेसमै खुलेका छन्, उद्योगहरु मधेसमै छन, कसरी मधेस पछाडि पर्यो?’    
 

अहिलेको संविधानमा मधेसलाई समृद्ध बनाउन प्रशस्त व्यवस्था गरिएको तर्कगर्दै उनले भने, ‘विदेशीलाई मुलुकको प्रमुख पदमा पर्याउने माग, विदेशी भाषालाई राष्ट्रिय भाषा बनाउने माग कदापी स्कीकार्य हुदैन।’ मधेसको रैथानेको अधिकारकालागि भन्दा अन्तका मानिसको अधिकारका लागि उठाइएका मागमा कसरी सहमति जनाउने?’

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले संसदमा दर्ता भएका संशोधन प्रस्ताव फिर्ता गरी संविधान कार्यान्वयन  गर्नुको विकल्प नभएको बताए। उनले  संविधान कार्यान्वयन गर्न आफूहरु जस्तोसुकै वलिदानी गर्न तयार रहेको चेतावनी दिए। ‘संविधान बचाउनका लागि प्रदेशको निर्वाचन हुनैपर्छ,’ उनले भने ‘स्थानीय निकायको निर्वाचनले संविधान जोगिँदैन अहिलेको मुल मुद्दा संविधान कार्यान्वयन  गराउने हो संशोधन होइन।’

एमाले महासचिव इश्वर पोखरेलले   संशोधन प्रस्ताव संविधानलाई असफल पार्ने षड्यन्त्र भएको आरोप लगाए। ‘यो संविधानले रैथाने मधेसीलाई कुनै पनि अधिकारबाट बञ्चित गरेको छैन, विदेशीलाई देशको प्रमुख पदमा पुर्याउने मागमा सहमत हुनै सकिँदैन।’

लहानको माडवारी सेवा सदनमा जारी एमाले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि आयोजकले लहानको सहिद पार्कमा झुन्ड्याएको पार्टीको झन्डा संघीय समाजवादी फोरमका कार्यकर्ताहरुले फालेप तनाव भएको थियो । तनाव भडकिन नदिन पूर्व क्षेत्रबाट ब्यापक सुरक्षाकर्मी लहानमा झिकाइएको छ । सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अवस्था नियन्त्रणमा राख्न कार्यक्रम स्थलदेखि चोक र गल्लीहरुमा सुरक्षाकर्मीलाई परिचान गरिएको बताए।

यता संघीय समाजवादी फोरमको पनि दुई नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम लहानको गोपाल सेवा समितिमा जारी छ । फोरमका नेता अशोक राईले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग अनुसार संशोधन परिमार्जन नभई निर्वाचन घोषणा भए प्रतिरोध गर्ने चेतावनी दिए।     

प्रकाशित: ९ पुस २०७३ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App