राजनीति

संविधान संशोधनको कुनै औचित्य छैन: खनाल

लहान- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताएका छन्।

सिरहाको लहानमा आज आयोजित नेकपा (एमाले)को २ नं प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले साझा सहमतिका आधारमा बनेको संविधानलाई कार्यान्वयन गरेर देश अगाडि बढाउनुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराउनु गलत भएको टिप्पणी गरे। “अहिलेको संविधानले मधेसी, पहाडी, हिमाली सबै जनतालाई बराबरी अधिकार दिएकाले संशोधनको आवश्यकता छैन” उनले भने।

सो प्रशिक्षण कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले सरकार आवश्यक नभएको संविधान संशोधन प्रस्ताव दर्ता गराएर निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाउँदै तत्काल संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानुपर्नेमा जोड दिए।

दलका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्य र सरकार प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताउँदै संसारमा हुँदै नभएको अभ्यास नेपालमा लागु गर्ने प्रयास गरिए एमालेले कडा प्रतिवाद गर्ने बताए। रासस

 

प्रकाशित: ८ पुस २०७३ १४:३९ शुक्रबार

संविधान संशोधनको कुनै औचित्य छैन खनाल