राजनीति

लाेकमानविरुद्ध मुद्दाकाे सुनुवाइ पुस २१ मा, वारेस बुझ्न अाफै जानु नपर्ने

काठमाडौँ–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा लोकमानसिंहविरुद्धका मुद्दामा सुनुवाइ बिहीबारदेखि सुरु भएको हो। उनका तर्फबाट शुक्रबार अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गरे।

रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्रलगायतले बिहीबार बहस गरेका थिए।  लोकमानसिंहको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले रिट निवेदन दायर गरेका थिए। खारेज भइसकेको अधिवक्ता अर्यालको निवेदन सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेको थियो।

लोकमानसिंहका पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गरे। उनको नियुक्ति संविधानसम्मत भए/नभएको सुनुवाइपछि निर्णय आउनेछ। पूर्व कानुन सचिव प्रमोद कार्कीविरुद्ध पनि अदुअआका निलम्बित प्रमुखको मुद्दाका सिलसिलामा म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेको छ।

यसैबीच अदालतले लोकमानसिंह र पूर्व कानुन सचिव प्रमोदलाई आफ्नो मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ। मुद्दामा आफैँ स्वयम् उपस्थित हुनु नपर्ने सुविधा शुक्रबारकाे पूर्ण इजलासले उनीहरुलाई दिएको हो।

यसअघि उनीहरू आफैँ मुुद्दाको पेसी बुझ्न जानु पर्ने हुन्थ्याे। म्याद तामेली अवरोध गरेको मुद्दाको सुनुवाइपछि कार्कीद्वयलाई वारेस राख्ने सुविधा दिएको हो। आफ्नो मुद्दाको वारेस बुझ्न आएका कार्कीविरुद्ध दुर्व्यवहार भएपछि कार्की पक्षका अधिवक्ताले वारेस राख्न पाउनुपर्ने निवेदन दिएका थिए। रासस

प्रकाशित: ८ पुस २०७३ १२:२३ शुक्रबार

लाेकमानविरुद्ध मुद्दाकाे सुनुवाइ २१ वारेस बुझ्न अाफै जानु नपर्ने