राजनीति

शंसोधन प्रस्ताव अपुरो छ, परिमार्जन गरौंः भट्टराई

चितवन– नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संविधान शंसोधन प्रस्ताव अपुरो भएका कारण परिमार्जन गर्नुपर्ने बताएका छन्। ‘यो अझै पनि अपुरो छ। एमालेसँग पनि अझै छलफल गरौं। आन्दोलनरत मधेसी, थारु र अन्य जातजातिको पनि माग पुरा हुने गरेर परिमार्जनसहितको शंसोधन प्रस्ताव लैजाउँ’ शुक्रबार भरतपुरमा भएको कार्यक्रममा नेता भट्टराईले भने।

पार्टी निकटको महिला संगठन महिला शक्ति नेपालको पहिलो राष्ट्रिय भेलाको भरतपुरमा उद्घाटन गर्दै नेता भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन्। नेताहरुले ‘बलजफती संविधान जारी गरेका कारण कार्यन्वयनमा समस्या आएको बताउँदै उनले संसोधन गर्ने बेलामा पनि कमजोरी नगर्न अपिल गरे। ठूला दलहरुले दम्भ कायम राखे समस्या बढ्दै जाने उनले बताए।

‘संविधान जारी गर्ने बेलामा हतार नगरौं तराई जलेको छ, उहाँहरुको मागलाई पनि सम्बोधन गरेर मात्रै संविधान जारी गरौं भन्दा ९० प्रतिशत मत छ भन्दै संविधान घोषणा गरेका कारण कार्यन्वयनमा लैजान समस्या भयो । अबको संसोधनले पनि समस्या समाधान हुँदैन त्यसैले परिमार्जन गरौं,’ उनले भने । २००७ साल होस् वा त्यसपछिका क्रान्ति र आन्दोलन सबै दल मिलेका करण सफल भएको बतउँदै उनले मिलापमा जोड दिए ।

‘हामी मिल्न नसकेका कारण छिमेकीले हस्तक्षेप गर्न थालेका छन्। मसानघाटमा पुगेका राजा पनि चल्न खोज्दैछन्। त्यसैले बेमेल र गतिरोध बढाएर फाइदा कसैलाई छैन। सबै मिलेर अगाडी बढौं। सबैको भावानालई समेटेर संविधान संसोधन गरौं’ नेता भट्टराईको आग्रह थियो। खुकुरीको भरमा लडेर देश जोगाएको इतिहास भएका नेपालीहरुमा मेलमिलाप बढे कुनै शक्तिले कमजोर बनाउन नसक्ने उनले बताए।

‘आज देश हाम्रै कारण कमजोर भएको हो। नेताहरु सबै मिलेर देश विकासमा लागे बल्ल हामी बलियो हुन्छौं। कुनै छिमेकीले हामीलाई कमजोर ठान्न सक्दैनन्। विश्वले हामीलाई मान्ने छन्। हाम्रो पासपोर्टको विश्वमा इज्जत हुने छ’ नेता भट्टराईले भने। माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति गठन गरेका भट्टराईले आन्दोलनमुखी नभएर निर्माणमुखी राजनीति आफूहरुले गर्ने उनले बताए।

महिला शक्ति नेपालको राष्ट्रिय भेला दुई दिन चल्ने छ। भेलामा ७५ जिल्लाका पाँच सय प्रतिनिधि सहभागी भएको संयोजक कल्पना धमलालले जानकारी दिइन्। भेलाले सम्मेलन आयोजक समिति गठन गर्ने उनको भनाइ छ।

प्रकाशित: ८ पुस २०७३ १०:३८ शुक्रबार

शंसोधन प्रस्ताव अपुरो परिमार्जन गरौंः भट्टराई