राजनीति

चितवन २ मा एमालेबाट रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस

वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा नेकपा (एमाले)ले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने अघि सारेको छ।  

जिल्ला कमिटीको आज (शुक्रबार) बसेको बैठकले सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो। यसअघि एमाले क्षेत्रीय कमिटीले पनि न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।  

यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै व्यवसायी डा.तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो। न्यौपानेलाई मंसिर ४ गतेको निर्वाचनमा एमालेले चितवन क्षेत्र नम्बर ३ मा उम्मेद्वार बनाएको थियो। तर, पछि पार्टीको नेतृत्वले नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई सहयोग उम्मेद्वारी फिर्ता लिएका थिए।  

उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ। सोही कारण एमालेले आजै नाम टुंगो लगाएको हो। उपनिर्वाचनमा नेपाली कांग्रेसबाट चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवार बन्दैछन्। श्रेष्ठ सत्ता गठबन्धनका साझा उमेद्वार हुन्।  

गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने भारि मतान्तरले विजयी भएका थिए। नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि लामिछानको सांसद पद गुमेको थियो। चितवन २ सहित बारा २ र तनहुँ १मा उपनिर्वाचन बैशाख १० गते हुँदैछ।  

प्रकाशित: १७ चैत्र २०७९ ११:४३ शुक्रबार

नेकपा (एमाले)