राजनीति

‘राजाको सेवामा खट्नेलाई निजामती’ भन्छन्, निजामती सेवाको नाम फेरौंः कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नुपर्ने बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधिले निजामती सेवाको नाम फेर्नुपर्ने बताए। 

उनले आफू सामान्य प्रशासन मन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको बताए। निधिले लोकसेवा आयोगले कर्मचारीहरूको भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने बताए। निधिले निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ बताए। उनले राजाको सेवामा खटिनेहरूलाई ‘निजाम्ती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उल्लेख गरे। नेता निधिले निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने बताए।  

उनले भने, ‘हामीले निजामती सेवाको नाम र संरचनामा पदनामहरु जुन छ नि, अहिले कमसेकम सचिव, अतिरिक्त सचिव, विशेष सचिव, उपसचिव, सहसचिव, शाखा अधिकृतसम्म त ठिकै छ। मलाई मनमा लागेको थियो मैले मन्त्रालयमा कार्यभार सम्हाल्दा ऐन बनाउने बेलामा दुई वटा कुराको चर्चा गरेको थिएँ। यो निजामती शब्द किन राख्ने? म त देशको प्रशासन प्रणालीबाट, कानुनबाट निजामती शब्द नै हटाउन चाहन्थे म। लोकसेवा आयोग छ, त्यसको नाम निजामती सेवा आयोग किन छैन? मेरो प्रश्न छ। निजामती सेवा आयोग प्रदेश स्तरको किन भन्दैनौँ हामी? किन लोक सेवा आयोग भन्छौँ? यदि लोकसेवा आयोग पनि कर्मचारीहरूकै लागि हो भने, राष्ट्रसेवक कर्मचारीहरूकै लागि हो भने निजामती सेवाको ठाउँमा लोकसेवा कर्मचारी किन नभन्ने? सार्वजनिक सेवा किन नभन्ने? निजामती उर्दुबाट आएको हो। फारसीबाट आएको हो। अरबबाट आएको हो। निजाम भनेको पहिले पहिलेको जमानामा राजालाई भनिन्थ्यो। निजाम भनेको शासक। हैदरावादमा तपाई जानुस् त्यहाँ निजामको शासन थियो मुसलमानको मुस्लिम शासनको बेलामा। राजाको लागि खटिने कर्मचारीहरू जुन थियो कारिन्दाहरू क्रमशः विकसित हुँदै त्यो निजामती सेवा भयो। निजामती होइन, ‘निजाम्ती’ उच्चारण त्यो हो त्यसको। मैले सामान्य प्रशासन मन्त्री हुँदा चेन्ज गरौँ भने। मैले भने प्रशासनविद्हरूलाई आफ्नो नाम चेन्ज गर्नुस्। मर्यादित नाम खोजौँ। मैले भनेकै हुनुपर्छ भन्ने छैन। सरकारी सेवा भन्नुस्। सार्वजनिक सेवा भन्नुस् । त्यो भन्नुभयो भने सङ्घीय तहको, प्रदेश तहको, स्थानीय तहको सेवा भन्न सजिलो हुन्छ। नभए निजामती सेवा भन्ने शब्द राख्ने कि स्थानीय तह राख्ने भन्नेमा झगडा भइरहन्छ। असली बुँदा पछि पर्छ।’

नेता निधिले राजनीतिज्ञ र कर्मचारीहरूको सहकार्य सफल भएमा देश र जनताले प्रगति गर्ने बताए। उनले राजनीतिक स्थिरताका लागि पनि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताए।

निधिले भने, ‘राजनीतिज्ञ र कर्मचारीहरूको सम्बन्ध अन्योन्याश्रित हुन्छ। र दुईवटैको सहकार्य सफल रूपमा अगाडी बढ्यो भने त्यसले जनता र देशको प्रगति गर्दछ। राजनीतिक स्थिरता पनि प्रदान गर्दछ। राजनीतिक स्थिरताका लागि आवधिक निर्वाचन हुनु र संसद् आउनु, सरकार बन्नुले मात्रै पर्याप्त हुँदैन। राजनीतिक स्थिरताका लागि पनि र जनताका मुहार फेर्नको लागि पनि स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। योगदान अत्यन्त महत्त्वपूर्ण छ। नीति निर्माण केन्द्रबाट जति बनेता पनि त्यो जनताको घरदैलोमा गाउँमा पुगेन भने कार्यान्वयन हुँदैन र त्यो कार्यान्वयन स्थानीय तहबाट गर्न सकिन्छ। त्यसैले स्थानीय तहको कर्मचारीको भूमिका महत्त्वपूर्ण छ।’

नेता निधिले स्थानीय तहका कर्मचारीहरू र निजामती सेवा बाट आएका कर्मचारीहरूबिचमा द्धन्द देखिएको गुनासो आएको भन्दै द्धन्दको निराकरण गर्नका लागि राजनीतिक तह प्रतिवद्ध रहेको बताए। 

प्रकाशित: १७ चैत्र २०७९ ११:२२ शुक्रबार

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नुपर्ने बताए