राजनीति

तिवारी हत्याका दोषीलाई कारबाही माग

काठमाडौँ-अनेरास्ववियुले रुपन्देहीस्थित युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीका हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे ।

अज्ञात समूहले तिवारीलाई सोमबार अपराह्न करिब ३ बजे देवदह नजिकै गोली हानेकामा स्थानीय देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले सो घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै तिवारीको हत्याबाट उत्पन्न भएको शोकलाई शक्तिमा परिणत गरी उहाँको आदर्शानुसार सङ्गठनलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे।

यसैबीच पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आज अनेरास्ववियुले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा धर्ना दिएको छ । पछिल्लो पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अस्वाभाविक भएकाले त्यसलाई फिर्ता लिन सङ्गठनले आग्रह गरेको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले चौतर्फी असर पर्ने र सर्वसाधारणलाई मार पर्ने हुँदा मूल्य वृद्धि फिर्ता गर्न आग्रह गरे।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएकाले स्वचालित प्रणालीअनुसार मूल्य बढाउन आवश्यक नदेखिएको जिकिर गरे। रासस

प्रकाशित: ५ पुस २०७३ ०७:०१ मंगलबार

तिवारी हत्याका दोषीलाई कारबाही माग