राजनीति

अग्रवाललाई रोक्न मोर्चाबन्दी

काठमाडौं- त्रिवि, चिकित्साशास्त्र अध्यायन संस्थान (आइओएम) डिनमा वरिष्ठताका आधारमा नियुक्त भएयता डा.जगदिशप्रसाद अग्रवालले काम गर्न पाएका छैनन्। उनको नियुक्ति भएको आइतबार १५ दिन पुगेको छ। दलहरूबीचको भागबन्डामा आइओएम डिन कांग्रेस भागमा परेको थियो। 'पार्टीको कार्यकर्ता चिकित्सक' लाई डिन नबनाइएको भन्दै असन्तुष्ट पक्षले अग्रवाललाई काममा बाधा पुर्‍याएका हुन्। कार्यकारी परिषद्ले अग्रवाललाई मंसिर १८ गते डिन नियुक्त गरेपछि 'आइओएम बचाऊ संघर्ष समिति' नाममा असन्तुष्ट पक्षले कार्यालयमा लगाएको ताला खुलेको छैन।

असन्तुष्ट पक्षले नयाँ डिनको पदबहालीअगावै तालाबन्दी गरेपछि आइओएमअन्तर्गतकै 'नेसनल सेन्टर फर हेल्थ प्रोफेसनल एजुकेसन' को कार्यालयमा अग्रवालले पदबहाली गरेका थिए। डिन बन्नुअघि अग्रवाल सो सेन्टरका कार्यकारी निर्देशक थिए। अग्रवालले केही दिन त्यही कार्यालयबाट डिनको काम थाले पनि संघर्ष समितिले त्यहाँ पनि तालाबन्दी गरेको छ।

डिनले असन्तुष्ट पक्ष एवं विभागीय प्रमुखसमेतको उपस्थितिमा सहमतिको प्रयास गरे पनि समिति निकट भनिएकाले अग्रवालको राजीनामाको अडान दोहोर्‍याइराखेका छन्। डा. रमेशकान्त अधिकारी संयोजकत्वमा त्रिविले गठन गरेको समितिले तयार पाएको मापदण्डअनुसार डिन नबनेसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक डा.अभिमन्यु झाले बताए।

अधिकांश वरिष्ठ र स्वातन्त्र मानिने चिकित्सकले अग्रवालाई अवरोध गर्ने कार्यक्रममा साथ नदिए पनि असन्तुष्ट पक्षले आफूले भनेअनुसार नभए अस्पतालको सेवा रोक्नेसमेत चेतावनी दिएको छ। उनीहरूले अस्पताल सेवा संघर्ष समितिको नाममा त्रिवि, प्राध्यापक संघ महाराजगन्ज इकाइको व्यानरबाट आन्दोलन गरिरहेका छन्। इकाइका पदाधिकारी रहेका कांग्रेसनिकट डा. मोदनाथ मरहट्टा, उपप्राध्यापक डा. झा, डा. सुरेश उप्रेतीले आन्दोलनको नेतृत्व लिएका छन्। मरहट्टा इकाइ अध्यक्ष, झा उपाध्यक्ष र उप्रेती सचिव हुन्।

चिकित्सक संघका केन्द्रीय सदस्य डा.सञ्जीव तिवारी पनि अग्रवालाई काममा बाधा पुर्‍याउने अभियानमा छन्। डा. गोविन्द केसीको दसौं अनशनक्रममा चिकित्सक संघले संस्थागत रुपमा मध्यस्थता गरेर सहमति जुटाए पनि तिवारीसहित संघकै  सहसचिवसमेत रहेका डा. झा र कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले पनि आइओएममा जारी आन्दोलनको नेतृत्व लिएका छन्। अग्रवाललाई हटाउन भन्दै असन्तुष्ट पक्षले कांग्रेसका पदाधिकारी र त्रिवि पदाधिकारीलाई समेत बारम्बार भेट गरेको स्रोतको भनाइ छ।

अग्रवाल विरोधी आन्दोलनमा डिन बन्ने दौडमा रहेका र नयाँ कलेजलाई सम्बन्धन दिने पक्षमा निरन्तर लागेका चिकित्सकको समेत साथ छ। डिन बन्ने दौडमा रहेका कांग्रेस निकट  डा. करवीरनाथ योगी र डा. दिनेशविनोद पोखरेलले आन्दोलनमा साथ दिएका छन्। डा. केसीले अनशनक्रममा अनियमिततामा संलग्न रहेको भन्दै कारबाहीको माग राखेका डा. अरुण सायमी, डा. रामप्रसाद उप्रेती, डा. रतिन्द्रनाथ श्रेष्ठसहित सम्बन्धन पक्षधर डा.केके ओली, डा.शशी शर्मा, डा. केपी सिंह पनि अग्रवाल विरोधी मोर्चाबन्दीमा छन्।

मोर्चाबन्दीमा रहेका मध्ये अधिकांशले त्रिविले चार कलेजलाई चोर बाटोबाट सम्बन्धन दिन २०७० मा थालेका प्रक्रियामा संलग्न थिए। सो सम्बन्धन प्रक्रियामा डा. योगीले काठमाडौ नेसनल मेडिकल कलेज, डा. शर्माले पिपल्स मेडिकल कलेज, डा. ओलीले मनमोहन मेडिकल कलेजको पूर्वाधार पुगेको भन्दै सम्बन्धन दिन हुने रायसहितको प्रतिवेदन त्रिविलाई दिएका थिए।

त्यस्तै कांग्रेस निकट कालीप्रसाद रोस्यारा र एमाले निकट कर्मचारी नर्वदा थापाले अग्रवाल विरोधी कर्मचारी आन्दोनको नेतृत्व गरेका छन्।

अडान राख्ने र नयाँ कलेजलाई सम्बन्धनको विपक्षमा रहेका अग्रवाल डिन भइरहँदा मेडिकल कलेजहरूको सिट निर्धारणमा समेत असर पर्ने भन्दै निजी कलेज सञ्चालकहरूले पनि आन्दोलनलाई साथ दिएका छन्। स्रोतका अनुसार डा. उप्रेती, डा. झा र डा. तिवारी स्पष्ट रुपमा काठमाडौं नेसनललाई सम्बन्धन दिने पक्षमा छन्।

 संघर्ष समिति उपसंयोजक झाले कुनै कलेजको फाइदाका लागि नभई आइओएम रक्षाका लागि आन्दोलन गरेको दाबी गरे। 'त्रिविमा बरु तीन दलले बाँडेर पदाधिकारी बनाएका छन्, हाम्रोमा कांग्रेसको मान्छे आउनुपर्छ भनेर आन्दोलन हैन,' उनले भने, 'व्यक्तिको मागभन्दा मापदण्डले डिन बनाओस् भनेर हो,' उनले आफू चिकित्सक संघको पदाधिकारीको रुपमा नभई आइओएमको सदस्यको रुपमा आन्दोलनमा लागेको बताए।

डा. अग्रवालले आफू २६ वर्षदेखि निरन्तर संस्थाको हितमा लागेको भन्दै सबैले सहयोग गर्ने अपेक्षा राखेको बताए। 'छलफल भइरहेका छन्, मैले संस्थाकै हितमा काम गर्ने हो, व्यक्तिगत रुपमा कसैसँग दुस्मनी पनि छैन,' उनले भने, 'साथीहरू सबैको सहयोग पाउँछु भन्नेछ।' उनले केही दिनमै निकास निस्कने र काम गर्न सहज हुने विश्वास व्यक्त गरे।

त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ सुरुदेखि नै पूर्वाधार नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिन लागिपरेका छन्। त्यसका लागि उनले आइओएममा आफू अनुकूल डिन बनाउन तिकडम गरे पनि अन्ततः उनी सफल भएनन्। डा. केसीले दसांै अनशनमा खनियाँकोसमेत बर्खास्तगीको माग राखेका थिए। उनको तिकडमविरुद्ध र केसीको मागका पक्षमा आन्दोलन चर्कंदै गएपछि खनियाँले बाध्य भएर वरिष्ठ चिकित्सक अग्रवाललाई डिन बनाउनुपरेको थियो।

डा. केसीले अग्रवाललाई काम गर्न नदिने आन्दोलनमा त्रिवि पदाधिकारीसमेत साथ रहेको हुनसक्ने बताए। 'थिति बसाल्न म जतिपटक पनि संघर्षका लागि तयार छु,' उनले भने, 'अग्रवाल वरिष्ठताका आधारमा डिन भएकाले चलखेल गर्न पाइँदैन भनेर काम गर्न नदिने यो खेल भएको हो।

अहिले अग्रवाल विरोधी आन्दोलनमा सामेल चिकित्सक वरिष्ठता सूचीमा ४५ औं नम्बरमा रहेका कांग्रेस निकट डा. योगीलाई डिन बनाउन चाहन्थे। तर योगीको पक्षमा केसी सहमत थिएनन्। कार्यकारी परिषद्ले डा. केसीसँग समेत राम्रो सम्बन्ध भएकैले वरिष्ठको नवौं नम्बरमा रहेका डा.केपी सिंहलाई डिन बनाएको थियो। त्यसपछि अहिले आन्दोलनमा उत्रिएको समूहले पहिलादेखि लगाएको ताला खोलिदिएको थियो भने डा. केसीले सबैभन्दा वरिष्ठलाई डिन बनाउनुपर्ने माग राखेर दसौं अनशन थालेका थिए। अनशनको पक्षमा जनसमर्थन बढ्दै गएपछि सिंहले डिनबाट राजीनामा दिएका थिए। त्यसपछि प्राध्यापकमध्ये वरिष्ठ अग्रवाललाई कार्यकारी परिषद्ले डिन बनाएको थियो।

प्रकाशित: ४ पुस २०७३ ०२:५७ सोमबार

अग्रवाललाई रोक्न मोर्चाबन्दी