राजनीति

अख्तियार उचालेर ‘कू' गर्न खोजियो : प्रधानमन्त्री

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेका बेला 'कू' गर्न खोजिएको बताएका छन्।

विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार दाहालले लडाकु शिविर अनियमितता छानबिन नाममा आफूलाई पक्राउ गर्ने र सरकारविरुद्ध 'कू' गर्ने योजना बनेको तर त्यो सफल नभएको बताए।

अघिल्लोपटक भावनामा बगेर कुर्सी छाडियो, यसपटक छाडिँदैन, विपक्षीले गलहत्याए मात्र हो, तर संघीयता र गणतन्त्रविरुद्ध दायाँबायाँ गर्न दिइँदैन- पुष्पकमल दाहाल

'भारत भ्रमणका बेला अख्तियारलाई उचालेर 'कू' गर्ने प्रयास भएको थियो तर कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले त्यसलाई रोकेको पछि थाहा भयो,' भेलामा दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘लडाकु शिविर अनियमितता छानबिन नाममा अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउपुर्जी थमाउने योजना थियो, पक्राउपत्र तयार पारेर खाममा ठिक्क पारेपछि रोकिएछ।'

 उनले सरकारबाट आफूलाई हटाउन एमालेले ‘न्वारानदेखिको बल’ लगाइरहेको दाबीसमेत गरे। दाहालले पहिलो कार्यकालजस्तै भावनामा बगेर आफूले कुर्सी नछाड्ने पनि बताए। 'अघिल्लोपटक भावनामा बगेर कुर्सी छाडियो, यसपटक छाडिँदैन,' दाहाललाई उद्धृत गर्दै ती नेताले भने,

‘विपक्षीले मेराविरुद्ध अविश्वासको प्रस्ताव हालेर संसद्बाट गलहत्याए भने मात्रै छोडिन्छ तर संघीयता र गणतन्त्रविरुद्ध दायाँबायाँ गर्न दिइँदैन।'

 दाहालले माओवादी विभाजित र कमजोर हुँदै गएकाले पनि ‘प्रतिगामी’ चलखेलमा उत्रिएको दाबी गरे। 'एकातिर किरण, अर्कातिर बाबुराम, विप्लव  फरकफरक दृष्टिकोणका साथ अलग भएका छन्,' दाहालले भने, ‘हामी कमजोर भएकै बेला विरोधीले आक्रमण गर्नु नौलो होइन, अब पुनः माओवादी केन्द्रीकरणमा लाग्नुपर्छ।’

 यसैबीच आइतबार प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव पारित नभए पनि फरक नपर्ने तर संसद् बैठक चल्नुपर्ने  बताए। ‘परास्त हुन्छ भने के फरक पर्‍यो,’ उनले भने, ‘कांग्रेस–माओवादीले मात्र भोट हाल्दा संशोधन प्रस्ताव परास्त हुन्छ, परास्त गर्न दिनुपर्‍यो, तर प्रतिपक्षीले संसद् बैठक रोकेर बस्नु भएन।’

उनले संसद् चल्न नदिएर प्रतिपक्षी दल एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको टिप्पणी गरे। दाहालले संशोधनमा मधेसी मोर्चाले पनि समर्थन जनाइसकेको र राप्रपाले पनि केही छलफल र परिमार्जनपछि समर्थन गर्ने बताइसकेको बताए। ‘संशोधन प्रस्तावमा आधारभूत कुरामा परिमार्जन हुँदैन,’ उनले भने, ‘भाषा र संघीय आयोगका केही कुरामा भने फेरबदल गर्न सकिन्छ। संघीयतामा केही फेरबदल हुँदैन।’

 संसद् अवरोध गरिरहेका विपक्षी दलसँग ३ वटा मुद्दामा छलफल भइरहेको जानकारी दाहालले दिए। उनका अनुसार संशोधन प्रस्ताव, लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव र चुनावमिति घोषणामा सहमति जुटाउन एमालेसँग छलफल भइरहेको छ। ‘यी तीनवटै मुद्दामा विपक्षीसँग लगातार छलफल भइरहेको छ,’ उनले भने।

 उनले संशोधन प्रस्ताव ल्याउने सरकारको अधिकार रहेको र पारित वा परास्त गर्ने भन्ने अधिकार संसद्को भएकाले बैठक सञ्चालनमा अवरोध नगर्न एमालेलाई आग्रह गरे। ‘प्रतिपक्षीले जति छिटो कुरा बुझ्छ, राजनीतिक गतिरोध त्यति छिटो अन्त्य हुनेछ,’ दाहालले भने, ‘पारित गरिदिनुस्, समर्थन गरिदिनुस् भनेकै छैन, संसद्मा विपक्षीले आफ्नो मत राख्नुपर्‍यो। सरकार संशोधन प्रस्ताव पारित गराउन चाहन्छ। प्रतिपक्षले असफल पार्न खोज्छ भने यो उसको अधिकार हो।’

प्रकाशित: ४ पुस २०७३ ०२:१६ सोमबार

अख्तियार उचालेर कू गर्न खोजियो प्रधानमन्त्री