राजनीति

देश अस्थिरतातर्फ गइरहेको छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका हुन। 

बिहीबार राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिर पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढिरहेको बताए।

लिङदेनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताए। अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी पनि दिए।

उनले भने, ‘हामी सरकारमा हुनु वा नहुनु तपसिलको कुरा हो। तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ। तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू झनै तीव्र रूपले बढिरहेका छन्। त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन। देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएका छन्। सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मूल मुद्दा बनाएर अघि बढ्नुपर्छ। विगतमा सरकारले राम नवमीमा दिइरहेको बिदा कटौती गरेको थियो। हामी सरकारमा थोरै समय रहे पनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०८० को सार्वजनिक बिदामा राम नवमी पनि परेको छ। केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमा भन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन। उच्च प्राथकिताका साथ सरकारले यसको जिम्मेवारी लिनुपर्छ।’

अध्यक्ष लिङदेनले आफू सरकारमा रहँदा २०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको जानकारी दिए। 

प्रकाशित: १६ चैत्र २०७९ ०७:०७ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन देशमा स्थिरता बत्तिसपुतलीस्थित राम मन्दिर