राजनीति

संशोधनमा सहयोग नभए दुर्घटनाको खतरा : प्रधानमन्त्री

चितवन- संविधान अपूरो रहेको र संशोधनका लागि अभियान चलाउने उद्घोषका साथ नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशन शनिबार भरतपुरमा सुरु भएको छ। संविधान अपूरो भन्ने महासंघको मतमा मत मिलाउँदै महाधिवेशन उद्घाटन गर्न आएका  प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले भने 'संविधान जारी हुँदा नै अपूरो भन्ने पार्टीको नेता नै मै हुँ।'

 अपूरो संविधानलाई पूर्णता दिने जिम्मेवारी पनि आफ्नै भएको दाहालले बताए। महाधिवेशनको मुख्य नारा 'पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान, अपूरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान'  छ।

 प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पास गराउन जनजाति अगुवालाई अपिल गरे। 'हिजो युद्ध र आन्दोलनमा तपाइँहरू (जनजाति) ले मद्दत गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो। अहिले पनि तपाईंहरूले त्यसरी नै सहयोग गर्नु भएन भने ठूलो राजनीतिक दुर्घटनाको खतरा छ', दाहालले भने।

 नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सबै बाहुन क्षेत्री एकै खालका छैनन् भन्दै केही बाहुन, क्षेत्री संघीयता मोस्न लागेको आरोप लगाए। संघीयता खोस्ने षड्यन्त्र भए प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न आफू तयार रहेको दाहालले बताए। 'सबै बाहुन, क्षेत्री उस्तै छैनन्। एकथरी बाहुन, क्षेत्री छन् जनजातिका अधिकारका लागि लड्छन्, अर्काथरी छन् जनजातिलाई अधिकार दिनै हुँदैन भनेर हिँड्छन्। एकथरी बाहुन, क्षेत्री संघीयता खोस्न खोजेका छन्। त्यसो भए  प्रधानमन्त्री कार्यालयबाटै बिद्रोह गर्नेछु', प्रधानमन्त्री दाहालले भने।

 संघीयता खारेज गर्न खोज्नेले टाउको उठाउन लागेको भन्दै सजग रहन प्रधानमन्त्रीले अपिल गरे।

नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने धारणा राख्दै आएका नेपाली कांग्रेसका महामन्त्री शशंाक कोइरलाले भने उद्घाटन सभामा हिन्दु राष्ट्रका बारेमा केही बोलेनन्।

महासंघका अध्यक्ष नगेन्द्र कुमालले पहिचानसहितको संघीयताले मुलुकलाई एकीकृत  सवृद्ध बनाउने बताए।

महाधिवेशन बन्दसत्र आइतबार नारायणी कलामन्दिरमा हुनेछ। बन्दसत्रमा प्रतिनिधि पर्यवेक्षक गरेर ४२४ जनाले भाग लिने आयोजक पक्षले जनाएको छ। सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: ३ पुस २०७३ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App