राजनीति

अब देखिने गरी काम गरौं: मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्। बनेपा नगरपालिकाको बयालीसौं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए।

मुख्य मन्त्री जम्मकट्टेलले समाजले खोजे अनुसारका विकासका काम गर्न  सबैलाई आग्रह गरे। ‘वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ’,उनले भने।

जनादेश अनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो।

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहना अनुरूपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा शहरलाई व्यवस्थित गर्न प्रदेश सरकारले विषेश रूपमा सहयोग गर्न आवश्यक रहेको बताए। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले काठमाडौंको वैकल्पिक शहरका रूपमा विकास हुँदै गएको बनेपा नगरपालिकालाई प्रदेश सरकारले शहरी विकास आयोजनामार्फत व्यवस्थित शहर निर्माणको काममा सहयोग गर्न माग गरे।

पाँचखाल नगारपालिका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले बनेपा नगरपालिकासँग जोडिएका वडाका सिमानामा विकास आयोजनाको काम, सरसफाइ, करिडोर सडक निर्माणको काममा आवश्यक समन्वय र सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताए। सो अवसरमा बनेपा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा निरन्तर रूपमा १५ वर्षसम्म सेवा प्रदान गर्ने शिक्षक/शिक्षिका र २५ वर्षसम्म अनवरत रूपमा सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको थियो। रासस

प्रकाशित: १५ चैत्र २०७९ ०४:०८ बुधबार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल स्थानीय तहसँग सहकार्य