राजनीति

उद्‍गम थलोमा 'धोकैधोका'

दाङ- संविधान सभाको पहिलो निर्वाचनका बेला माओवादीले आफ्नो उद्गम थलो रोल्पाको 'थबाङ' लाई राजधानी बनाउने चुनावी एजेन्डा बनायो। २०५२ सालमा बन्दुक उठाएर माओवादी द्वन्द्वलाई सघाउ पुर्‍याएका थबाङी माओवादीको यो नाराले हर्षित बने।

रुकुम, सल्यान, रोल्पा र प्युठानलाई एउटा प्रदेशमा राख्ने र उक्त प्रदेशको राजधानी थबाङ बन्ने माओवादीको चुनावी नाराले वर्षौंदेखि 'उत्पीडित' महसुस गरेका थबाङीले मुक्तिको अनुभूति गर्नु स्वाभाविकै थियो। गाउँमा विकास निर्माण, शिक्षा, रोजगारको अवसर सिर्जना हुने र गाउँको मुहारै फेरिएला भन्ने आश थबाङले गरेको थियो। फलस्वरुप थबाङको एकछत्र मत माओवादीलाई पर्‍यो।

माओवादीको व्यवहारले आक्रोशित रोल्पालीलाई पुनः अर्को द्वन्द्वमा पुर्‍याउन सक्ने टिप्पणी पुराना माओवादी नेताले गर्न थालेका छन्।

 संविधानसभा निर्वाचनपछि थबाङलाई हेर्ने माओवादी 'दृष्टि' कमजोर बन्दै गयो। 'आमूल परिवर्तन'को आशमा बन्दुक बोकेका थबाङीले पार्टी नेतृत्व क्रान्ति बिर्सेर 'संसदीय भास'मा फस्दै गएको अनुभूति गर्न थाले। थबाङलाई राजधानी बनाउने एजेन्डाबाट विमुख बन्दै जान थालेपछि थबाङ माओवादीप्रति रुष्ट बन्दै गयो। वर्षौंसम्म पनि विकास निर्माण, शिक्षा, रोजगारको अभावमा थबाङ पिल्सिरह्यो।

 फलस्वरुप पछिल्लो संविधानसभा निर्वाचनमा थबाङमा शून्य मतदानको अवस्था आयो। 'थबाङमा शून्य मतदानको अवस्था आउनुको मुख्य कारण भनेकै माओवादीको अधुरो आश्वासन हो,' थबाङका पुराना माओवादी नेता अमर झाँक्री भन्छन्, 'क्रान्तिबाट परिवर्तन चाहेका हामीले क्रान्ति गर्‍यौं तर उपलब्धि कहिल्यै पाएनौं।' माओवादीविरुद्ध रुष्ट बनेको थबाङ माओवादीकै विरोधमा सडकमा उत्रिसकेको छ। केही दिनअघि मात्रै स्थानीय निकाय संरचना निर्माणका बेला माओवादी नेतृत्वको वर्तमान सरकारविरुद्ध सयौं थबाङी प्रदर्शनमा उत्रिएका थिए।

रोल्पाको मुहार फेर्ने नारा फ्याँकेर हतियार उठाउन उक्साएको माओवादी अहिले आफ्नै जन्मथलोबाट सबैभन्दा बढी आलोचित छ। रोल्पालीले पनि सबैभन्दा बढी प्रताडित माओवादीकै कारण भएको अनुभूति गर्छन्। कारण हो, रोल्पालीलाई माओवादीले गरेको 'घातक व्यवहार।' न्याय, समानता र प्रगति चाहेको रोल्पा उनै माओवादीकै व्यवहारले झन्पछि झन् कमजोर अवस्थामा पुगेको टिप्पणी माओवादीकै पुराना नेता गर्छन्।

 'रोल्पाले सधैं समानता, प्रगति, र न्याय पर्खेर बस्यो,' अमर भन्छन्, 'तर त्यो रोल्पालीले कहिल्यै पाएनन्, माओवादीले आफ्नो उद्गम थलोमा धोेकैधोका दिएको छ।' आफ्नो बलिदान र संघर्षबाट मुलुकको नेतृत्व तहमा पुगेका नेताबाट अग्रगतिमा पुग्ने अपेक्षा गरेको रोल्पाले अहिले उनै नेताले गरेको सीमांकन हेरफेरको निर्णयले झनै पछि धकेलिएको महसुस गरेको छ।

 ५ नम्बर प्रदेशको सहजताबाट टिपेर माओवादीले असहजताको भूमरीमा फ्याँकिदिएको आरोप रोल्पालीको छ। 'सीमांकन संशोधनमार्फत रोल्पालाई अपायकमा पारेर तत्कालीन द्वन्द्वका सर्वोच्च कमान्डर प्रचण्ड (हालका प्रधानमन्त्री) ले ठूलो धोका दिएको' रोल्पाली बताउँछन्।

माओवादीकै सस्तो लोकप्रियताले कुनै बेला राजधानीको सपना देखेका उनीहरू अहिले त्यही माओवादीविरुद्ध सडकमा ओर्लिएका छन्। 'पहिले जसले माओवादी आन्दोलनलाई उचाइमा पुर्‍यायो, अहिले उनै जनतालाई कुल्चिएर माओवादीले राम्रो गरेन,' अर्का पुराना माओवादी नेता सन्तोष बुढा भन्छन्, 'प्रचण्डलाई यो जनघाती निर्णयले सिध्याउनेछ, उहाँलाई पक्कै राम्रो हुँदैन।'

थबाङबाट सशस्त्र द्वन्द्व सुरु गरेको माओवादीले आफ्नो लडाइँको उद्देश्य 'अधिकार प्राप्ति, रोजगार, राष्ट्रिय स्वाधीनता' तय गरेको थियो। सशस्त्र द्वन्द्व थालनीकर्तामध्येका सन्तोष अहिले सम्झन्छन्, 'हरेक हिसाबमा पिछडिएका रोल्पालीलाई त्यो बेलाको माओवादी नारा अत्यधिक प्रिय थियो।'

पञ्चायती शासनको अवशेष बाँकी रहेको अनुभूत गरेको रोल्पाको थबाङले कथित उपल्लो वर्गको थिचोमिचोबाट मुक्ति पाउने आशा अधिक गरेको थियो। 'थबाङमा पञ्चायती शासन व्यवस्थाको अवशेष बाँकी नै थियो,' उनी भन्छन्, 'त्यही अवशेष अन्त्यकै लागि थबाङबाट माओवादी द्वन्द्व सुरु भएको हो।'

 १० वर्षसम्म रोल्पाली यही परिवर्तनका लागि लडे। यस अवधिमा साढे सात सय रोल्पालीले ज्यान गुमाउनुपर्‍यो भने सयौं घाइते अपांग बनेर कुँजो जीवन बिताइरहेका छन्। कतिपय अहिलेसम्म बेपत्ता छन्। 'रोल्पालीको यो सहादत केवल परिवर्तनका लागि थियो,' सन्तोष भन्छन्, 'किनकि परिवर्तनका लागि लड्न प्रेरित गर्नेमध्येकै हामी थियौं।' लडाइँका लागि रोल्पालीलाई प्रेरित गरेका सन्तोष अहिले आफ्नो पुरानो भूमिका सम्झेर दुःखी छन्।

द्वन्द्व समाप्तिपछि माओवादीका दुई नेता प्रधानमन्त्री बने। पुष्पकमल दाहाल अहिले दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा छन् भने माओवादीकै अर्का नेता डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बने। द्वन्द्वकालमा लडाकुका कमान्डर नन्दकिशोर पुन उपराष्ट्रपति छन् भने अर्की नेतृ ओनसरी घर्ती सभामुख छिन्।

रोल्पाकै कृष्णबहादुर महरा अहिले उपप्रधान तथा अर्थमन्त्री छन् तैपनि रोल्पाले आफ्नो अनुहार फेर्न पाएको छैन। विकास निर्माणको अवस्था दयनीय छ। अशिक्षा र बेरोजगारीले रोल्पा अहिले पनि थलिएकै छ। अधिकारप्राप्तिको मार्गमा रोल्पा अघि बढ्न नसकेको गुनासो अहिले पनि उस्तै छ।

'समस्या ज्युँका त्युँ छन्,' माओवादी पुराना नेता अमर भन्छन्, 'परिवर्तन नेतामा आयो, जनता उस्ताको उस्तै भए। अहिले पनि विकास निर्माण, रोजगारी, शिक्षालगायत हरेकको तथ्यांक हेर्नुस्, रोल्पा उस्तै गरिब छ।' आफ्नै पार्टीका नेताबाट विकास नपाएकोमा असन्तुष्ट रोल्पालीलाई उनै नेताको पछिल्लो जनघाती निर्णयले बढी पिल्सिनुपरेको छ । विकासको ढोका खुल्ने आशा गरेका रोल्पालीलाई झनै पछि धकेल्न खोजिएको निष्कर्ष निकाल्दै उनीहरू भन्छन्, 'उद्गम थलोमा जहिले पनि धोकैधोका भयो।'

राजधानी बनाउने सपनामा माओवादीबाट धोका पाए पनि रोल्पालीले प्रदेश सीमांकनको रेखा स्वीकार गरेकै थिए। यसअघिको सीमांकनमा रोल्पा ५ नम्बर प्रदेशको दाङसँग जोडिन पाउँदा खुसी थियो। पारस्परिक सम्बन्ध भएको दाङसँगको निर्भरता तोडिनुको पीडा रोल्पालीलाई अत्यधिक छ। 'दाङसँग जोडिन पाएको रोल्पालाई पहिलो सीमांकनले खुसी तुल्याएको थियो,' अमरले भने, 'अहिले त्यसलाई छुट्याएर रोल्पालीलाई माओवादी नेतृत्वले अधिक दुःख दिन खोजेको छ।'

 माओवादीको यो व्यवहारले आक्रोशित रोल्पालीलाई पुनः अर्को द्वन्द्व सिर्जनाको अवस्थामा पुर्‍याउन सक्ने टिप्पणी पुराना माओवादी नेताले गर्न थालेका छन्। 'न्याय, समानता र सुगमताको अवसर नपाएर क्रुद्ध रोल्पालीलाई झनै जानाजान असुविधाको बाटोमा धकेल्न खोजियो भने यसको परिणाम भनेकै अर्को द्वन्द्व हो,' सन्तोष बुढा भन्छन् ।
दाङसँग घरआँगनको सम्बन्धमा रहँदै आएका रोल्पाली यो सम्बन्ध नटुटोस् भन्ने चाहन्छन्। दाङसँग साइनो तोडिनासाथ रोल्पाको विकासमा थप संकट पैदा हुने उनीहरूको त्रास छ। 'दाङसँगको सामीप्य टुट्नासाथ रोल्पा धेरै कदम पछि पर्छ,' रोल्पामा सीमांकन विरोधी आन्दोलनको नेतृत्व गरेका कांग्रेस सांसद तथा रोल्पा जिल्ला सभापति अमरसिंह पुन भन्छन्, 'वर्तमान सरकारले यति जनघाती निर्णय गरेर द्वन्द्वको चरम मार खेपेका रोल्पालीलाई फेरि दुःख दिने प्रयास थालेको छ।'

प्रकाशित: ३० मंसिर २०७३ ०२:४३ बिहीबार

उद्‍गम थलोमा धोकैधोका