राजनीति

संसोधन विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरीः अध्यक्ष न्यौपाने

काठमाडौं–चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संशोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन।

सोमबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा उनले मिलेर बसेका नेपालीलाई मधेस र पहाडका नाममा टुक्र्याउने र मुलुकको सामाजिक सद्भावलाई क्षत विक्षत बनाउने योजनासहित ल्याएको संशोधन विधेयक फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरिरहेको भन्दै जनताको भावनालाई बेवास्ता गरिरहे आन्दोलनमा जानुको विकल्प नहुने स्पष्ट पारे ।

न्यौपानेले भने, ‘चुरेभावर आन्दोलनबाटै जन्मिएको शक्ति हो, हामीले आन्दोलन गर्न जानेका छौं । २०६३ साल ७२ सालको आन्दोलन राज्यले बिर्सिए जस्तै छ, यस्तै रहे राज्यले यसको मूल्य चुकाउनु पर्छ।’

उनले अंगीकृत नागरिकलाई उच्चपदमा पुर्याउने योजना नेपालकै मुलबासी मधेसी र अन्य समूदायको अधिकार खोस्ने षडयन्त्र भएको भन्दै यसका विरुद्ध सबै नेपालीहरु एक हुनु पर्ने आवश्यकता औंल्याए ।

न्यौपानेले अमेरिका र बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा कार्यकारी प्रमुख हुन क्रिश्चियन धर्मालम्बी नै हुनु पर्ने ब्यवस्था विद्यमान रहेको अवस्थामा बहुसंख्यक हिन्दु समूदाय रहेको नेपाल हिन्दु राष्ट्र हुनु पर्नेमा आफूहरु स्पष्ट भएको बताउँदै विदेशीको स्वार्थमा ल्याइएको धर्मनिरपेक्षको विषयमा विवाद भए पछि जनमत संग्रहबाट टुङग्याउनु पर्ने धारणा राखेका छन्।

मधेसी मोर्चाले फेरि आन्दोलनको धम्की दिइरहेको सन्दर्भ उल्लेख गर्दै उनले मोर्चाले नाकाबन्दीसहितको आन्दोलन गर्दा समेत चुरेभावर प्रदेश बन्द नभएकोले अहिले पनि त्यसलाई असफल बनाएर मुलुकको अखण्डता र सार्वभौमिकता रक्षा गर्न जस्तो सुकै कदम चाल्न पनि आफूहरु तयार रहेको स्पष्ट पारे। न्यौपानेले भने, ‘ हामी अहिले आन्दोलन तयारी छौं, त्यसैको तयारीमा अहिले म देशव्यापी दौडाहामा हिडेको हो।’ अध्यक्ष न्यौपाने पछिल्लो समय देश दौडाहामा छन्।

प्रकाशित: २७ मंसिर २०७३ ०५:५७ सोमबार

संसोधन विधेयक नलिए आन्दोलनको आँधीबेहरीः अध्यक्ष न्यौपाने