राजनीति

संविधान संशाेधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता हुँदैन: मन्सुर

काठमाडौं–सत्तारुढ दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले कसैले भन्दैमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता मन्सुरले संविधान कार्यान्वयनको लागि पनि संशोधन अनिवार्य भएकोले सरकारले संसदमा दर्ता गराएको प्रस्ताव दुई तिहाईले पारित हुने दाबी गरे। उनले भने,‘कसैले विरोध गर्दैमा केही हुनेवाला छैन, यो पस्ताव पारित हुन्छ।’

साक्षात्कामा मन्सुरले अहिले संसदमा दर्ता भएको प्रस्ताव कुनै हालतमा राष्ट्रघाती नभएको जिकिर गर्दै राष्ट्रघाती भनेर आरोप लगाउने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बसेर बहस गर्न आफूहरु तयार रहेको चुनौती दिए। मधेसी, आदिवासी, जनजातिलाई अधिकार दिनकालागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै उनले भने, ‘हिजो संविधान जारी गर्दा पनि हामीले त्यतिवेला असहमति र असन्तुष्टिका कुराहरु राखेका छौं, तर संविधान जारी गरौं पछि संशोधन गर्दै जाने हो भनेर ठूला दलका शीर्ष नेताहरुले भनेपछि संविधान जारी भएको हो, अहिले आएर ९० प्रतिशतको सहमतिमा संविधान जारी भएको हो भन्न मिल्छ ? हामी विना कसरी ९० प्रतिशत पुग्थ्यो?’

मन्सुरले वर्तमान सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती देख्नेहरु नै राजाका पिछलग्गुहरु भएको आरोप लगाए। उनले थपे, ‘यो प्रस्ताव राष्ट्रघाती छैन, यो त जनतालाई अधिकार दिलाउनको लागि ल्याइएको हो नि।’

उनले एमाले अध्यक्ष ओलीको पछिल्ला अभिव्यक्ति सरकार छोड्नु पर्दाका छटपटीका रुपमा लिँदा उत्तम हुने तर्क गरे। मन्सुरले थपे, ‘उहाँलाई सरकार छोड्नु पर्दाको छट्पटी होलान, तुष छ।’ उनले मधेसी जनताहरुमाथि राष्ट्रियताको प्रश्न गर्नु गलत हुने समेत स्पष्ट पारे। उनले भने, ‘यो मधेशी जनताहरुमाथिको अपमान हो, जनताले अब यसको जवाफ दिन्छन्।’

मन्सुरले संशोधन प्रस्तावलाई लिएर अनर्गल प्रचार नगर्न समेत एमालेका नेताहरुलाई कडा चुनौती दिएका छन्। उनले भने, ‘अहिले अर्नगल प्रचार गरेर शासकले भोलि आफ्ना नातिलाई मुख्यमन्त्री बनाउने सुनिश्चिताको लागि यस्तो चर्को कुरा गरिरहेका छन्, यो त मधेसी जनताहरुलाई शासनमा पुग्न नदिने षड्यन्त्र हो।’

उनले तीन महिना अघि यही प्रस्ताव एमाले र यसको नेतृत्वको लागि राष्ट्रवादी हुने आज आफू सरकारमा नहुँदा अरुले प्रस्ताव ल्याउँदा राष्ट्रघाती हुने भन्दै यस्तो गलत सोचाई नराख्न चुनौती दिए । उनले अहिलेको प्रस्तावमाथि कसैले राष्ट्रघात भनेर टिप्पणी गर्छ भने तीनीहरु मण्डलेहरु भएको आरोप लगाए । उनले भने,‘जनतालाई अधिकार दिने प्रस्तावको विरोध गर्नेहरु नव मण्डलेहरु हुन्।’

उनले एमालेले भनेजस्तो अब प्रस्ताव कुनै हालतमा फिर्ता नहुने समेत अडान लिए । मन्सुरले भने, ‘प्रस्ताव अब कुनै हालतमा फिर्ता हुँदैन, यदि एमालेका साथीहरुलाई बहाना चाहिरहेको छ भने हामी तातो तातो चिया कफी खुवाएर थप वार्ता तथा छलफल गर्न तयार छौं।’ उनले प्रस्ताव फिर्ताको कुरा उठाएर एमालेले फेस सेभिङ् गर्न खोजिरहेको समेत टिप्पणी गरे। उनले पछिल्ला दिनहरुमा संशोधन प्रस्तावबारे एमाले र यसको नेतृत्वहरुको प्रस्तुति पनि गरमबाट नरमतर्फ उन्मुख रहेको समेत दाबी गरे।

प्रकाशित: २५ मंसिर २०७३ ०९:३४ शनिबार

संविधान संशाेधन प्रस्ताव कुनैपनि हालतमा हुँदैन मन्सुर