राजनीति

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध हट्दैन: सचिव आचार्य

ताप्लेजुङ- नेकपा एमालेका सचिव तथा प्रदेश नं १ का प्रमुख भीम आचार्यले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाने बिषय एमालेले स्विकार नगर्ने बताएका छन्। उनले संसदमा निर्वाचन सम्वन्धी कुनै पनि बिधयेक दर्ता भएमा एमालेले त्यस माथिको छलफलमा बिरोध वा अवरोध नगर्ने पनि बताए।

एमाले ताप्लेजुङले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन शुक्रवार फुङलिङ आएका आचार्यले प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा संशोधन प्रस्ताव फिर्ता नभए सम्म सदन र सडकको गतिरोध नहटने प्रष्ट पारे।

राष्ट्रिय अखण्डताको जगर्नेलाई उल्टाउने र समयमै निर्वाचन हुन नदिई देशलाई अस्थिरताको बाटोमा डोर्‍याउने हिसाबले संविधान संसोधन प्रस्ताव आएको भन्दै आचार्यले त्यसका बिरुद्ध देशव्यापी जनलहर बढ्दै गएको बताए। आचार्यले तराई र पहाडलाई एक ठाँउ रहन नदिने गरी राष्ट्रघाती सोचले संशोधन प्रस्ताव तयार भएकोले त्यसका बिरुद्ध एमाले सडक र सदनमा देखा परेको प्रष्ट पारे। पूर्वमन्त्री समेत रहेका नेता आचार्यले मतको हिसावले पनि पारित हुन नसक्ने संशोधन प्रस्ताव फिर्ता लिएर बुद्धिमता अपनाउन सरकारलाई सुझाव दिए।

 

प्रकाशित: २४ मंसिर २०७३ १०:५६ शुक्रबार

संशोधन प्रस्ताव नलिएसम्म सदनको अवरोध हट्दैन सचिव आचार्य