राजनीति

एमालेले सत्ताप्राप्तिको भर्‍याङ बनायो : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले संविधान संशोधनलाई प्रमुख प्रतिपक्षी एमालेले सत्ताप्राप्तिको भर्‍याङ बनाउन लागि परेको बताएका छन्। सरकारबाट बाहिरिनुपरेको कुण्ठाका कारण एमालेले संविधान संशोधन गर्न नदिएर प्राप्त उपलब्धिमाथि नै धावा बोल्न लागेको उनीहरूको आरोप छ।

कांग्रेस नेता रामचन्› पौडेलले मुलुकलाई निकास दिनेगरी जिम्मेवार बन्न एमालेलाई आग्रह गरे। साताव्यापी जापान भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका पौडेलले संविधान संशोधन गरेर निर्वाचनमा नगए मुलुक संकटमा फस्ने बताए। विमानस्थलमा पत्रकारसँग उनले भने, 'चुनाव भएन भने मुलुक संकटमा फस्न सक्छ, त्यति बेला मुलुकमा के हुन्छ? मधेसवादी र एमालेले सोच्नुपर्छ।'

लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षताको रक्षाका लागि पनि संविधान संशोधन जरुरी रहेको दाबी गर्दै पौडेलले भने, 'यीे उपलब्धि जोगाउने की नजोगाउने? जोगाउनका लागि संविधान संशोधन आवश्यक छ।'

संविधान संश्ाोधन प्रस्ताव असफल हुँदा मुलुकको अवस्था भयावह हुने दाबी गर्दै पौडेलले भने, 'प्रस्ताव तुहिँदा त्यसको परिणाम के हुन्छ भन्ने पनि सोचौं।' संविधान संशोधन प्रस्ताव दर्ता गर्नुअघि पार्टीभित्र छलफल भएको जनाउँदै उनले भने, 'अहिले आएको संशोधन प्रस्तावमा ठूलो विषय केही छैन, यो कांग्रेस र एमालेको तत्कालीन साझा दस्तावेज हो। यसलाई राष्ट्रघाती भन्नु गलत हो ।'

संशोधन प्रस्तावलाई लिएर एमालेले राष्ट्रघात भएको बताइरहेका बेला पौडेलले शब्दको दुरुपयोग नगर्न र एमालेलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे। संशोधनलाई देखाएर एमालेले नयाँ सरकार गठनको छलफल अघि बढाएको हो भन्ने प्रश्नमा पौडेलले भने, 'एमालेले मोही माग्ने ढुंग्रो लुकाउने काम गरेको छ। यस विषयमा अहिले छलफल भएको छैन।'

संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका लागि सहमतिको सरकार गठनका विषयमा पनि छलफल हुनसक्ने संकेत गर्दै पौडेलले भने, 'निकासका लागि सहमति र सम्झौता गर्नुपर्ने अवस्था पनि आउन सक्छ।'

पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव परिमार्जन गरेरै भए पनि पारित गर्ने बताए। नागरिकता, भाषा, सीमा, राष्ट्रिय सभालगायतका विषयमा संश्ाोधन आवश्यक भएकाले सरकारले संशोधन प्रस्ताव दर्ता गराएको जनाउँदै निधिले भने, 'केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले प्रस्ताव गर्दा कसरी राष्ट्रघाती भयो?'

एमालेलाई राजनीतिक बेइमानी नगर्न आग्रह गर्दै निधिले केपी ओली प्रधानमन्त्री रहेकै बेलामा पहाडी जिल्ला ४ नम्बर र ६ नम्बर प्रदेशमा तथा तराईका जिल्ला ५ नम्बर प्रदेशमा राख्ने टुंगो लागेको पनि दाबी गरे। संसद् अवरोध हटाएर संविधान संशोधन प्रक्रिया अगाडि बढ्नुपर्ने जनाउँदै निधिले भने, 'एमालेले संसद् अवरोध हटाएर संसदीय प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ।' संशोधनमाथि असन्तुष्टि भए संसद्बाटै समाधान खोज्न सकिने जनाउँदै निधिले प्रस्ताव दुईतिहाइले पारित हुने दाबी गरे।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले संविधान संशोधनविरुद्ध एमाले आन्दोलन र असन्तुष्टि सत्ताबाहिर रहनुपर्दाको कुण्ठामात्र भएको बताए। कांग्रेस समर्थनमा बनेको नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संविधान कार्यान्वयनमा अग्रसर भएपछि त्यसलाई असफल बनाउन एमाले सक्रिय भएको घिमिरेले दाबी गरे।

'कांग्रेसको अग्रसरतामा संविधान संशोधन नहोस् र सबै दल संविधानको मूलधारमा नआऊन् भन्ने एमालेको पूर्वाग्रही सोच र चिन्तन देखिन्छ,' उनले भने, 'सबै दल संविधानभित्र नसमेटिऊन्, निर्वाचन नहोस् र अहिलेको सबै प्रक्रिया असफल होस् भन्ने एमालेको चाहना देखिन्छ।'

२०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संघको निर्वाचन नहुँदा पटकपटक भएका आन्दोलनबाट प्राप्त सबै उपलब्धि संकटमा पर्ने तर्क गर्दै घिमिरेले संविधान संशोधन अवरोधले प्रतिगामी र परिवर्तन नचाहने शक्तिलाई एमालेले बल दिएको टिप्पणी गरे। मुलुकलाई संकटबाट निकास दिन सरकारले संशोधन दर्ता गराएको दाबी गर्दै उनले भने, 'मधेस केन्द्रित दलको होइन, मधेसी जनताको चाहना र मागलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेको छ।'

'केपी ओली नेतृत्व सरकारले मधेस केन्द्रित दलको माग सम्बोधन गर्नेगरी तयार गरेको संशोधन प्रस्ताव मुलुकभित्र छलफल नगरी उपप्रधानमन्त्रीमार्फत नयाँदिल्ली पठाउने एमाले कसरी राष्ट्रवादी भयो', घिमिरेले प्रश्न गरे।

सत्ताप्राप्तिका लागि मुलुकलाई अनिर्णयको बन्दी नबनाउन एमालेलाई आग्रह गर्दै घिमिरेले भने, 'सत्ताबाहिर बस्नै नसक्ने हो भने कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरौं। तर, संविधान कार्यान्वयन र प्राप्त उपलब्धिमाथि खेलबाड नगरौं।'

प्रदेश नम्बर ५ मा पहाड मिलाउनुपर्ने हो भने प्रदेश नम्बर २ मा पनि पहाड मिलाउनुपर्ने तर्क गर्दै उनले भने, 'दोहोरो मापदण्ड होइन, सबैतिर एकरुपता दिनुपर्छ।'

प्रकाशित: २३ मंसिर २०७३ ०२:५० बिहीबार

एमालेले सत्ताप्राप्तिको भर्‍याङ कांग्रेस