राजनीति

मेयर साम्पाङविरुद्ध सात दलको विज्ञप्तीः नगर प्रमुखले दम्भ, अहंकार र अपरिपक्वता प्रदर्शन गरे

वडाअध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर कार्यालयबाट सेवा दिँदै

मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु नै आन्दोलनमा उत्रिएपछि धरानका राजनीतिक दलहरुले पनि चासो व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन्। दलहरुले बुधबार साँझ जारी गरेको संयुक्त विज्ञप्ति वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको समर्थनमा छ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरुपमा विज्ञप्ति जारी गरेको हो। 

दलहरुले मेयर साम्पाङ नेतृत्वमा आएपछि एकपछि अर्को विभिन्न घटनाहरुलाई अतिरञ्जित बनाउने र प्रोपोगण्डा मच्चाउँदै आफूजस्तै निर्वाचित जनप्रतिनिधि, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुविरुद्ध भ्रामक, अमर्यादित र अशिष्ट शब्द प्रयोग गर्ने गरेको, आफ्नो समर्थकहरुबाट अश्लील गालीगलौज गर्न लगाएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

दलहरुले चैत १ गतेको कार्यपालिका बैठकमा मेयरको निजी सचिवालयका कर्मचारीले वडाअध्यक्षहरुलाई पत्र पठाएर योजना र कार्यक्रमको सुची माग गरेको बिषयमा ध्यानाकर्षण गराउँदा मेयर आफैले बैठक स्थगित गरेर बैठक भाँडेको भन्दै वडा १० को अध्यक्षलाई स्पष्टीकरण सोधेको बिषयमा पनि गम्भीर भुल गरेको उल्लेख गरेका छन्। मेयर साम्पाङले संवाद गरी समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा स्पष्टीकरण सोधेर घटनालाई थप अतिरञ्जित बनाएको भन्दै दलहरुले गैरजिम्मेवारपनको पराकाष्ठ भएको टिप्पणी गरेका छन्। 

यस्तै, तटबन्ध निर्माण सम्बन्धी योजना सिफारिस गर्न माग गर्दै ४ दिनसम्म झुलाएपछि के कति कारणले नदिएको हो भनेर बुझ्दा वडा ११ का सेवाग्राही सन्तोष लिम्बुलाई नगर प्रहरी लगाएर दुर्व्यवहार गर्ने, प्रहरी बोलाएर पक्राउ गर्ने कार्यले लोकतन्त्रको बेइज्जत र उपहास भएको पनि दलहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राजनीतिक दलहरुले हालसम्म मेयरको कार्यमा कुनै अवरोध र असहयोग नगरेको जिकिर गर्दै नगर विकास र सुशासन कायम गर्न दलहरु सहकार्यमा तयार भएपनि मेयरबाट पहल र समन्वय नभएको पनि विज्ञप्तिमा खुलाइएको छ। 

दलहरुले निजी सचिवालयका कर्मचारीमार्फत लेखिएको पत्र फिर्ता लिएर सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भुल सुधार गर्न र गल्ती रियलाइज गर्न माग गरेका छन्। यस्तै, सेवाग्राही सन्तोष लिम्बुलाई पक्राउ गरिएको घटनामा उनले माग गरेको सिफारिस दिएर आत्मालोचना गर्न र वडाअध्यक्षलाई सोधिएको स्पष्टीकरण फिर्ता लिएर आफूबाट भएको भुल स्वीकार गर्दै जनप्रतिनिधिहरुबीच आपसी एकता, सद्भाव र सहकार्य गरी काम गर्ने वातावरण तयार गर्न पनि दलहरुले विज्ञप्तिमार्फत माग गरेका छन्। 

दलहरुले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुलाई होच्याएर बोल्ने, कार्यपालिका सदस्यहरुले राखेका विचारलाई तोडमोड गरी उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरेको पनि आरोप मेयर साम्पाङलाई लगाएका छन्। यस्तै, केही युट्युब च्यानल तथा सञ्चार माध्यम प्रयोग गरेर कार्यपालिका सदस्यहरुको विचारलाई अतिरञ्जित गराउने तथा प्रोपोगण्डा गर्ने गरेको पनि आरोप विज्ञप्तिमा लगाइएको छ। ‘यसरी नगर प्रमुख जस्तो जिम्मेवार व्यक्ति भएर लगातार दम्भ, अहंकार र अपरिपक्वता प्रदर्शन गर्दा र आफू मात्रै जनप्रतिनिधि हुँ अरु केही होइन भन्ने घमण्डले न्याय प्रेमी सिंगो नगरबासीले नै अपमानित महसुस गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि, चैत ५ गते वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले संयुक्त पत्रकार सम्मेलन गरेर मेयर साम्पाङ समक्ष विभिन्न ५ बुँदे माग राखेर २४ घण्टे अल्टिमेटम दिएका थिए। उक्त समय सीमाभित्र पनि माग पुरा नभएपछि वडाअध्यक्षहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन्। 

समस्याको समाधान नभएसम्म कालोपट्टी बाँधेर सेवा दिइरहने र मेयर साम्पाङ उपस्थित हुने नगरपालिकाको कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय भएको पनि वडा नं १७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराई ९मनोज०ले जानकारी दिए। ‘जबसम्म समस्याको हल हुँदैन, हामी कालोपट्टी बाँधेर सेवा दिइरहनेछौँ, मेयर उपस्थित हुने कुनै पनि कार्यक्रममा हामी सहभागी हुँदैनौँ,’उनले भने,‘मेयरको गलत कदमविरुद्ध जनतालाई जागरुक बनाउने अभियान अन्तर्गत चैत १२ गते आमनागरिकहरुको भेला गछौं, र आन्दोलन उठाउँछौँ।’

प्रकाशित: ९ चैत्र २०७९ ११:४८ बिहीबार

मेयर हर्क साम्पाङ