राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक

एमाले अध्यक्ष केपी ओली निवासमा बसेको एमाले स्थायी कमिटी बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–सरकार र प्रतिपक्षबीचको दूरी बढिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, त्यसपछि उत्पन्न राजनीतिक तिक्तता र संशोधन प्रस्तावको विरुद्ध स्वतस्फूर्त रुपमा उर्लिएको जनमतका विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

स्रोतका अनुसार आइतबार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई अपमानित गर्ने ढंगले दिएको प्रस्तुतीका विषयमासमेत बैठकमा गम्भीर छलफल हुनेछ। आइतबार देउवाले ओलीलाई अपमानित हुने गरी आरोप प्रत्यारोप गरेको एमालेको ठहर छ। ‘शेरबहादुरजी जसरी प्रस्तुत हुनुभयो, त्यो शोभनीय थिएन,’ एक एमाले नेताले भने,‘मधेसी दल त मौका छोपेरै बसेका हुन। तर ठूलो दलको सभापति जसरी प्रस्तुत हुनुभयो, त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।’ बैठकमा पछिल्लो समय भारतीय राजदूतको भूमिकाप्रतिसमेत बैठकमा छलफल हुनेछ।

सरकारले गत मंगलबार राति संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पारित हुन नदिने भन्दै एमालेले लगातार संसद अबरोध गर्दै आएको छ। एमालेले संविधान संशोधन भन्दा पनि कार्यान्वयनमा एकजुट हुनुपर्ने अडान राख्दै आएका बेला बोलाइएको स्थायी कमिटी बैठकलाई महत्वकासाथ हेरिएको छ।

प्रकाशित: २० मंसिर २०७३ ०६:५४ सोमबार

एमालेले बोलायो स्थायी कमिटी बैठक