राजनीति

संविधान संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन

फाइल तस्बिर ।

काठमाडौँ- संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आज काठमाडौँ उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् ।  मोर्चाले उक्त प्रस्ताव मुलुकको हितमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभा समेत गर्यो ।

मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा तथा नेकपा (माओवादी) निकट युवा एवं विद्यार्थी सङ्गठन आबद्ध छन् ।  सरकारले प्रस्तावित प्रदेश नं ५ का पहाडी जिल्ला प्रदेश नं ४ मा समायोजन गर्ने प्रस्ताव गरेको छ । प्रदेश नं ५ का स्थानीय राजनीतिक दल, सत्तारुढ दलका नेता तथा जनताले समेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरी विभिन्न स्थानमा विरोध गर्दै आएका छन् ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले सदियाँैदेखि मिलेर बसेका पहाड र तराईका जनताबीचको एकतामा नकारात्मक प्रभाव पर्ने बताउँदै सबै नागरिकलाई राष्ट्रियताका निम्ति एकजुट हुन आग्रह गरे। उनका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेको मोर्चाले आज अपराह्न नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीसँग छलफल गर्ने छ । रासस

प्रकाशित: १९ मंसिर २०७३ ०६:११ आइतबार

संविधान संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन