राजनीति

श्रीपेच लगाउने राजा हटे पनि टोपी लगाउने राजा उदाए: अशोक राई

 

खोटाङ– संघीय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राईले लोकतन्त्रको नाममा मुलुकमा ‘श्रीपेच लगाउने राजा हटाएर टोपी लगाउने राजा’लाई स्थापित गर्ने काम भएको बताएका छन्। संघीय समाजबादी फोरम होलेसुङ तुवाचुङ नगर समितिले खोटाङको पर्यटकीय नगरी हलेसीमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बरिष्ठ नेता राईले लोकतान्त्रिक गणतन्त्र आएको भनिए पनि कार्यान्वयन हुन नसक्दा ‘टोपीवाल राजाहरु’ जन्मिएको बताए। ‘श्रीपेच लगाउने राजालाई हटाएर टोपी लगाउने व्यक्तीलाई राजा बनाउनु लोकतन्त्र होईन,’ बरिष्ठ नेता राईले भने, ‘लोकतन्त्र भनेको जनताको अँध्यारोमा उज्यालो, नांगोमा लुगा, भोको पेटमा खाना, रोगीको लागि औषधि हो, र हुनु पर्दछ।’

टोपी लगाउने राजाका कारण राजतन्त्र र लोकतन्त्रान्त्रिक प्रणालीमा जनताले कुनै फरकपन र नौलोपन अनुभूत गर्न नपाएको राईको भनाई थियो। राईले नयाँ संबिधान संबिधानको मर्म, भावना र सिद्धान्त बिरुद्ध रहेकाले संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। संसदीय दलका नेता रहेका बरिष्ठ नेता राईले राज्यको पुःर्नसंरचनाका काम अबैज्ञानिक र हचुवाका भरमा गरिएको राईले उल्लेख गरे। ‘खुट्टा अनुशार जुत्ता बनाउनुपर्नेमा जुत्ता अनुशार खुट्टा काट्ने काम भइरहेको छ,’ राईले भने, ‘चौध अञ्चललाई दुई/दुई वटा खापेर सात वटा बनाउने काम भएको छ, यो ठूला दलका नेताले राणा शासनको अवशेष बोकेर हिँड्न नछाडेको परिणाम हो ।’ राईले संबिधान संशोधनकोपक्षमा कांग्रेस खुलेर बोल्न नसकेको, माओवादी केन्द्रले ढुलमुले प्रबित्ति देखाएको र एमाले अस्वीकारको पक्षमा उभिएको जनाए।

प्रकाशित: १७ मंसिर २०७३ १२:३९ शुक्रबार

श्रीपेच लगाउने राजा हटे टोपी लगाउने राजा उदाए अशोक राई