राजनीति

पौडेल–मुर्मु टेलिफोन संवाद

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय सहकर्मी दौपदी मुर्मुले शुक्रबार टेलिफोन संवाद गरेकी छन्। भारतीय राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार केरला भ्रमणमा रहेकी मुर्मुले पौडेलले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन्।

‘दुवै राष्ट्रपतिले भारत र नेपालबीचको अद्वितीय र बहुआयामिक सम्बन्धका बारेमा उल्लेख गरेका थिए’,विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय सहयोगलाई थप सुदृढीकरण गर्ने र हाम्रा दुई देशका जनताबीचको मित्रताको गाँठोलाई थम सशक्त तुल्याउने विषयमा समेत उनीहरूबीच छलफल भएको थियो।’  

राष्ट्रपति पौडेलको मार्गदर्शनमा नेपाल–भारतबीचको सम्बन्धले थप उचाइ हासिल गर्नेमा समेत समकक्षी मुर्मुले विश्वास व्यक्त गरेकी थिइन्।

प्रकाशित: ४ चैत्र २०७९ ०२:५६ शनिबार