राजनीति

गणित गुरुदेखि उपराष्ट्रपतिसम्म

उपराष्ट्रपति पदमा निर्वाचित भएपछि रामसहायप्रसाद यादव। तस्वीर: नागरिक

मधेस आन्दोलनबाट आफ्नो राजनीतिक पहिचान बनाएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका छन्। सादगी जीवनशैली, सोझा र इमानदार नेताका रूपमा चिनिएका रामसहाय जसपा अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन्।

शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा जसपा कार्यकारिणी समिति सदस्य  रामसहाय ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका हुन्। उनलाई संघ (प्रतिनिधिसभा र राष्ट्रियसभा) तर्फ १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मतदान गरे। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू यादवको पक्षमा उभिए।

निर्वाचनमा रामसहायकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाइन्। यसैगरी जनमत पार्टीकी उम्मेदवार ममता झाले प्रदेशसभाका १५ सदस्य तथा संघतर्फ २३ सांसदको मत प्राप्त गरिन्। उम्मेदवारी निष्क्रिय बनाएकी जसपाकै नेत्री प्रमिला यादवले पनि प्रदेशसभातर्फ एक सांसदको १ मत पाइन्।

उपराष्ट्रपति पदका लागि सत्तारूढ गठबन्धनबाट दुईजनाको उम्मेदवारी परेको थियो। तराई मधेसकेन्द्रित दलहरूबीचमै सहमति जुट्न नसक्दा सत्तारूढ गठबन्धनबाट दुईजनाको उम्मेदवारी परेको हो। जसपाका रामसहायलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एसले साथ दिए । जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच मोर्चाबन्दी बनिसकेकाले ती दलका सांसदले सोहीमुताबिक झालाई मत दिए।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको उपराष्ट्रपतिको निर्वाचनमा संघतर्फ ३११ तथा प्रदेशसभातर्फ ५१८ सांसदले मतदान गरेका थिए। प्रदेशसभाका चार सांसदको मत बदर भयो। उपराष्ट्रपति निर्वाचनका लागि संघतर्फ ३३३ तथा प्रदेशसभातर्फ ५५० सांसद मतदाता थिए।

संघतर्फका जम्मा ३३४ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेको पद खारेज भएकाले र नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छन्। यसैगरी कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले मतदानमा सहभागी भएनन्। सांसदहरू चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन स्वास्थ्य प्रतिकूलताका कारण मतदानमा उपस्थित भएनन्। जसपाकी सांसद सहनाज रहमानको केही समयअघि निधन भएको थियो। एमाले सांसद लक्ष्मी महतो कोइरी पनि ज्यान मुद्दामा फरार रहेकाले अनुपस्थित थिए।

संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक जना सांसद तटस्थ बसे। प्रदेशसभातर्फ पनि राप्रपाका २८ र नेमकिपाका तीन सदस्य तटस्थ रहे। जसपाका पनि एक सदस्य अनुपस्थित रहेको जनाइएको छ।

को हुन् रामसहाय यादव?

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहाय यादव सुरुदेखि नै जसपा अध्यक्ष उपेन्द्र यादवसँग निकट छन्। यसअघि २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि  रामसहाय बारा-२ बाट विजयी भएका थिए। २०७२ सालमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरममा उनी महासचिव थिए। जसपा दुईपटक विभाजित हुँदा रामसहायले पार्टी अध्यक्ष उपेन्द्रलाई साथ दिए। पार्टीभित्र विवाद हुँदा उनी जहिले पनि उपेन्द्रको पक्षमा उभिने गरेका छन्।

रामसहाय २०१७ साउन ९ गते बाराको सिम्रौनगढ नगरपालिका–९ (साबिकको कचोर्वा गाविस–८) बसवरियामा जन्मिएका हुन्। उनी बुवा प्रसाद राय यादव र आमा सिंहवादेवी यादवका कान्छा छोरा हुन्। उनका दुई दाजुभाइ, तीन दिदीबहिनी, पत्नी, दुई छोरा र एक छोरी छन्। उनी २०४८ देखि २०६४ सालसम्म शिक्षण पेसामा संलग्न भएका थिए। २०६४ सालमा शिक्षण पेसामा राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा होमिएका हुन्। बाराको कलैयास्थित श्री पन्नादेवी कन्या माविमा उनी विज्ञान तथा गणित विषयका अध्यापक थिए।

रामसहायले भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जबाट शिक्षा संकायमा स्नातक गरेका छन्। उनी नेपाल सद्भावना पार्टीबाट राजनीतिमा जोडिएका हुन्। उनी नेपाल सद्भावना पार्टीनिकट नेपाल शिक्षक मञ्चमा आबद्ध थिए। त्यसयता उनी राजनीतिमा निरन्तर सक्रिय छन्।

सद्भावना पार्टीमा दरार आएपछि उनी असन्तुष्ट बनेका थिए। सद्भावना फुटको सँघारमा पुग्दा त्यसलाई रोक्न उनी अनशनसमेत बसेका थिए। फुट नरोकिएपछि उनी फोरमतिर लागेका थिए।

२०५९ सालमा उनी तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका हुन् । त्यसपछि उनले पार्टी अध्यक्ष उपेन्द्रसँगको निकटतालाई टुट्न दिएनन्। २०६४ सालको पहिलो संविधानसभामा उनी समानुपातिक सभासद् थिए। २०७७ वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (रासपा) बीच एकीकरण भई जसपा निर्माण भएपछि उनी कार्यकारिणी समिति सदस्य भए। २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा उनी वन तथा वातावरणमन्त्रीसमेत भए। अहिले उनी जसपाका संसदीय दलको नेता हुँदै उपराष्ट्रपति भएका हुन्।

उपेन्द्रलाई सांसद बन्ने बाटो खुला

उपराष्ट्रपतिमा रामसहाय निर्वाचित भएपछि जसपा अध्यक्ष उपेन्द्रलाई प्रतिनिधिसभामा प्रवेश गर्न बाटो खुलेको छ। रामसहाय उपराष्ट्रपति भएपछि उनी निर्वाचित बारा २ रिक्त भएको छ। अब त्यहाँ हुने उपनिर्वाचनमा उपेन्द्रले चुनाव लड्ने तयारी छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा उपेन्द्र सप्तरी–२ मा पराजित भएका थिए। सो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भएका हुन्।

प्रकाशित: ३ चैत्र २०७९ २३:४६ शुक्रबार

उपेन्द्रलाई सांसद बन्ने बाटो खुला गणित गुरुदेखि उपराष्ट्रपतिसम्म