राजनीति

न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको कार्कीको स्पष्टिकरण

फाइल तस्बिर

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पारेका छन्।

शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परिक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरुको लागि संचालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’ मा बोल्दै उनले सो कुरा बताएका हुन्।

न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाइ थियो। उनले मुद्धा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावी समेत गरे।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरुलाई पनि आग्रह गरे।

उनले भने, ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौं। हामीलाई अहिले मु्द्धाले धेरै जितेको छ। न्यायाधीशको संख्या कम छ। हामीले चाहेर पनि नहुने स्थिति भएको छ। उच्च अदालतमा एक चौंथाई न्यायाधीशहरु पूर्ति गर्न सकिएको स्थिति छैन। सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ। यो स्थितिमा अहिले हामी हिँडीरहेका छौं। र, यो न्यायाधीशको कम संख्यामा पनि हामी गुज्रीरहेका छौं। र, मुद्धाको संख्या आज दिनानुदिन बढदै गईरहेको अवस्था छ। तर त्यतिमा अहिले हामीले वास्तवमा अहिले दुईटा कुरालाई। एउटा न्याय ढिला नहोस् भन्ने कुरालाई पनि सजगता अपनाएका छौं। र, न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका छौं। वास्तवमा दूरदराजका मान्छेहरुले अदालतमा आउँदै र अनि पालो आएन भनेर फर्किदै जाने स्थितिको अन्त्य गर्नका लागि पेश सूचिलाई अघि बढाउने दिशामा पनि लागि सकेका छौं। अदालतको सुधारका प्रयासहरुलाई र अदालतले निष्पक्ष, गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा यहाँहरुको एकदमै रचनात्मक र सकारात्मक सहयोग र योगदान रहनेछ भन्ने विश्वास राख्दछु।’

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिष्टममा लैजान खोजेपनि सोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताए।  

प्रकाशित: ३ चैत्र २०७९ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App