राजनीति

को हुन् नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव?

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो। उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती दुई छोरा र एक छोरी छन्।

उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए। यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए। बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक थिए।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो। उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन्।  

 सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता थिए।  

 राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भए।  त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उनी पार्टी महासचिव थिए। यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिनन्छन्।

उनी विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए। विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनी हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत थिए।  

प्रकाशित: ३ चैत्र २०७९ ११:५५ शुक्रबार

रामसहाय प्रसाद यादव