राजनीति

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित कालका लागि स्थगित भएको छ।

निर्वाचन अधिकृत  टिकाराम रिजालले आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीका अवरोधका कारण तोकिएको समयमा निर्वाचन गर्न नसक्ने जानकारी गराएका हुन्।

निर्वाचन समितिको कार्यालयमा विद्यार्थी संगठनबाट तालाबन्दी भएको परिस्थितीमा आज बसेको  निर्वाचन समिति र अनुगमन तथा विवाद समाधान समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्ववियू निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु स्थगित गरिएको छ, विज्ञप्तीमा भनिएको छ।

त्रिभुवन विश्वविद्यालयले चैत्र ५  गते निर्वाचनको मिति तोकेको छ। सोही अनुसार वीरेन्द्र बहुमुखी क्याम्पसमा उमेद्वारको अन्तिम नामावली समेत प्रकाशन गरिएको थियो।

तर, चैत्र २ गते निर्वाचन समितिको कार्यालयमा ताला लगाएपछि तोकिएको समयमा निर्वाचन गराउन नसक्ने रिजालले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ। निर्वाचनका लागि अनुकुल वातावरण सिर्जना गर्न  विद्यार्थी संगठन र अन्य सरोकारवालाहरुलाई अनुरोध समेत गरिएको छ। मनोयन भन्दा अगाडि पनि  वीरेन्द्र क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी यूनियनले ताला लगाएको थियो। पछि प्रहरीले ताला फोरेपछि मनोनयन प्रकृया अगाडि बढेको थियो।

प्रकाशित: ३ चैत्र २०७९ ०९:५२ शुक्रबार

वीरेन्द्र बहुमुखी क्याम्पस स्ववियू निर्वाचन