राजनीति

सकियो रवि लामिछानेको राहादानीसम्बन्धी अनुसन्धान

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धान सकिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।  

फागुन ३० मा अनुसन्धान सिध्याएर सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको स्रोतले जनाएको छ।

‘प्रहरीले अनुसन्धान  सिध्याएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा ल्याएको छ’, स्रोतले भन्यो  ‘फागुन ३०मा सो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आएको हो।’

अमेरिकी नागरिकता र राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरेको थियो। उनले सोही नागरिकता बोकेर विदेश भ्रमण समेत गरेको स्रोतको दावी छ। साथै झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो।

त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो। रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले उनको सांसद पद खारेज गरेपछि  उनी उपप्रधान एवं गृहमन्त्रीबाट हटेका थिए। नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत माघ १३ गते फैसला सुनाएको थियो।

सोही दिनदेखि लामिछानेले उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधिसभाको सांसद र पार्टी सभापति पदबाट राजिनामा दिएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता प्रमाणपत्र लिएका थिए। लामिछानेले नागरिकता लिएपछि पुन: पार्टी सभापति बनेका थिए। उनी अहिले चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारीमा रहेका छन्।

प्रकाशित: ३ चैत्र २०७९ ०८:२२ शुक्रबार

रवि लामिछाने