राजनीति

संशोधनभन्दा पनि सङ्क्रमणकाल टुङ्ग्याइनु पर्छ: अध्यक्ष ओली

काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको सङ्क्रमणकालीन अवस्था टुङ्ग्याउनुपर्ने बताएका छन्।

युवा सङ्घ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आज लोकार्पण गर्दै उनले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा पनि देशको सङ्क्रमणकाल टुङ्ग्याउनुपर्नेमा जोड दिए।

“सरकारको काम संशोधन गर्ने होइन”–उहाँले भन्नुभयो, “ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर सङ्क्रमणकाल टुङ्ग्याउने काम हो । संशोधन गरेर अन्य काम अल्मल्याउने प्रयास गरिँदैछ।” उनले सरकारलाई नै संशोधन किन गर्न लागेको भन्ने कुरा थाहा नभएको पनि उल्लेख गरे।

जनताको हक अधिकारका सवालमा एमाले संविधान संशोधन गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाए।

उनले संशोधन गरेर नै मुलुकको समस्या नटुङ्गिने बताउँदै क्षणिक समयका लागि मात्र समस्या टुङ्गिने बताए। “हामीले पनि गतवर्ष समस्या टुङ्गिन्छ भनेर दुईवटा बुँदामा संशोधन गरेका थियौं”–उनले भने, “तर अहिले फेरि बल्झियो । संशोधनले तत्कालको मात्र समस्या समाधान हुने गर्दछ । फेरि पछि समस्या आउँछ।”

अध्यक्ष ओलीले सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको आरोप लगाए। उनले स्थानीय तहको पुनःसंरचनामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले नै बाधक बनेको आरोप लगाए।

एमाले सचिव प्रदीप ज्ञवालीले सरकार संविधान कार्यान्वयनभन्दा संशोधनको प्रस्ताव ल्याएर हिमाल, पहाड, तराईमा मुठभेड ल्याउन लागेको बताए।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, युवा नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष राजीव पहाडीले संविधान संशोधन देश र जनताविरुद्ध भएको भन्दै संशोधनभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताए। रासस

 

प्रकाशित: १२ मंसिर २०७३ १२:०५ आइतबार

संशोधनभन्दा सङ्क्रमणकाल टुङ्ग्याइनु पर्छ अध्यक्ष ओली