राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याउने कुरा स्वीकार्य नहुने नेताहरुको चेतावनी

काठमाडौंं–प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसकी नेतृ पम्फा भुसालले विवाद नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने कुरा स्विकार्य नभएको बताएकी छन्।
शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले विवाद नै नभएको ५ नम्बर प्रदेशमा विवाद उत्पन्न गराएकोमा आक्रोश पोख्दै भनिन्, ‘५ नम्बर प्रदेशमा विवाद नै छैन, विवाद नभएको ठाउँमा अनावश्यक विवाद किन गर्न खोजिएको हो? आजसम्म ५ नम्बर प्रदेशमा विवाद छैन, यदि हो भने यो विवादको टुँगो लगाउने जिम्मा संघीय आयोगलाई दिनुपर्छ।’

भुसालले कसैको स्वार्थ पूरा गर्नकालागि प्रधानमन्त्री पुष्पकमल दाहालले विवाद नै नभएको प्रदेशमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाइन्। उनले संविधान संशोधन गर्दै जाने हो भने संविधान देशको नभएर पार्टीको हुने समेत चिन्ता व्यक्त गरिन् ।
उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा विवाद समाधान हुने सुनिश्चितता भएमात्रै आफुहरु यो प्रदेशको विवाद संघीय आयोगबाट होस् भन्ने पक्षमा रहेको स्पष्ट पारिन्। ‘अरु विवादित जिल्ला यथावत रहने अनि यो विवाद नै नभएको प्रदेशलाई किन तलमाथि गर्ने, यसको टुँगो लगाउने जिम्मा जनतालाई दिनुपर्छ, कि विधान सभालाई वा संसदलाई दिनुपर्छ,’ उनले भनिन्।

भुसालले संविधान कार्यान्वयनको लागि पनि तीन वटै निकायको चुनाव समयमै हुनुपर्ने बताइन। उनले संविधान जारी भएसँगै प्राप्त भएका संघीयता, गणतन्त्रजस्ता उपलब्धिहरुको रक्षाको लागि समयमै संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै भनिन, ‘संविधान कार्यान्वयनको लागि समयमै चुनाव हुनुपर्छ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सीमांकनबारे संविधान संशोधन हुनै नसक्ने बताए। उनले अहिले प्रदेशको सीमांकनबारे संशोधन गरिए त्यो संविधान विपरित हुने समेत जिकिर गरे। उनले प्रदेशको सीमांकन संशोधन गर्ने हो भने पहिला प्रदेशको निर्वाचन गर्नुपर्ने जिकिर गरे।
अधिकारीले आफ्नो पार्टीलाई संविधान संशोधनको विरोधी हो भनेर जबरजस्ती प्रचार गरिएकोमा असन्तुष्टि पोख्दै भने, ‘एमाले संविधान संशोधनको विरोधी होइन, तर संशोधनको औचित्य पुष्टि हुनुपर्यो भन्ने हाम्रो कुरा हो, अहिले सरकारले संशोधन प्रस्ताव ल्याउने हल्ला चलिरहेको छ, एमालेले औचित्यको आधारमा समर्थन वा विरोध गर्छ।’ उनले संविधान संशोधनको नाममा मुलुकलाई अल्झाउन नहुने जिकिर गरे।

अधिकारीले संविधान विपरित संशोधन प्रस्ताव आए आफ्नो पार्टी अदालतमा जाने समेत चेतावनी दिए। अधिकारीले थपे, ‘हामी प्रतिवाद गर्छौं ।’ उनले हिजो संविधान ९० प्रतिशतले जारी गर्दा ग्राह्ृय नहुने आज एमालेलाई बाहिर राखेर संशोधन गर्दा कसरी गाहृय हुन्छ भन्दै प्रश्न समेत गरे । उनले परिवर्तनको एजेण्डालाई कार्यान्वयन गर्नको लागि पनि निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । अधिकारीले थपे, ‘मुलुकलाई जबरजस्त विखण्डनतर्फ डोर्याउने प्रवृत्ति हावी भएको छ, यसमा सजग हुनुपर्छ।’
कार्यक्रममा रापप्राका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन के–के विषयमा हुँदैछ भन्ने विषयमा अहिलेसम्म सरकारले आफ्नो दलसँग कुनै औपचारिक छलफल नै नगरेको गुनासो गरे।

उनले संविधान संशोधन गर्दा मधेशका मात्रै नभएर आफूहरुले उठाएका विषयमा पनि संशोधन हुनुपर्ने बताए। उनले आफूहरु मधेसको माग सम्बोधन होस भन्ने पक्षमा रहेको जिकिर गरे । उनले अघि थपे, ‘हिन्दुराष्ट्रको बारेमा के हुन्छ ? हिजो एक पटक संविधान संशोधन भैसक्यो?’ गिरीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य नेताहरुले ५ नम्बर प्रदेशको बारेमा उठाएको कुरालाई सरकारले सुन्नुपर्ने सुझाव दिए । उनले संविधान संशोधनको विषयमा वर्तमान सरकारले परिपक्व ढंगले होमवर्क नगरेको आरोप लगाए । विवादि जिल्लाको टुँगो लगाउने जिम्मा आयोगलाई दिनुपर्ने उनको भनाइ थियो । उनले मुलुकको समस्या समाधान गर्नेतर्फभन्दा पनि समस्या झनै बल्झाउनेतर्फ अहिले राजनीति अघि बढेकोमा चिन्ता व्यक्त गरे।

प्रकाशित: ११ मंसिर २०७३ ११:०७ शनिबार

नम्बर प्रदेश टुक्र्याउने कुरा स्वीकार्य नहुने नेताहरुको चेतावनी