राजनीति

दाहालपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री: निधि

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले दाहाल पछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री हुने बताएका छन्।

नेपाली कांग्रेस ललितपुर नगर समितिद्वारा बिहिबार बिहान मंगलबजारमा आयोजित भेटघाट कार्यक्रममा नेता निधिले पहिलो चरणमा, दोस्रो चरणमा माधव नेपाल र तेस्रो अर्थात् निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताएका हुन्।

निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वभाबिक गठबन्धनबाट माओवादी मुक्त भएको पनि बताएका छन्। बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्वपूर्ण निर्णय गरेको बताए।

निर्वाचन लगत्तै गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भए पनि बिश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उनको भनाइ थियो।

गठबन्धनकारी दलहरुबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सर्बसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै सरकारले विश्वासको मत लिने बताए।

सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने भन्दै उनले गठबन्धनकारी दलहरुबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने बताए।

प्रकाशित: २ चैत्र २०७९ ०७:१२ बिहीबार

नेता विमलेन्द्र निधि